पोखरा, १३ जेठ २०८१/
दुवैबाट एक किलो १०१ ग्राम लागू औषध कोकिन निलेर जहाज चढेकी कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो गएको जेठ ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरिन्। उनी सोझै विमानस्थलबाट सिधै ठमेलको एक होटलमा पुगिन् पनि । उनले सम्झिइन्, “म सुरक्षित रुपमा नेपाल आइपुगें। अब यो कोकिन सम्बन्धित व्यक्तिलाई बुझाउछु।” तर त्यसो भएन।
नेपाल प्रहरी अन्तरगतको लागू औषध नियन्त्रण ब्यूरोको टोली शुक्रबार उनी बसेको ठमेलस्थित होटलमा पुग्यो र उनलाई पक्राउ गरिछाड्यो।
शंकास्पद र पुर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनको निगरानी गरिरहेको थियो । सोही क्रममा कोकिन ल्याएको भन्ने पुष्टि भएपछि उनी बसेको कोठा खानतलासी गरेर प्रहरीले अबैध लागू औषध कोकिनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
कोठा खानतलासीका क्रममा ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्याप गरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको ब्यूरोका प्रबक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका अपुलाविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य तीन करोढ ८५ लाख रहेको प्रहरीले जनाएको छ ।
अन्तराष्ट्रिय लागु औषध गिरोहले उनलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।