पोखरा, ७ जेठ २०८१/
रातारात सेती नदीबाट बालुवागिटी चोरी निकासी गरेको आरोपमा प्रहरीले चार वटा ट्रयाक्टरहरुलाई समातेको छ। पोखरा महानगरपालिका वडा नम्बर १४ बाच्छीबुडुवास्थित सेती नदीमा मध्यरातको समयमा अबैध रुपमा नदीजन्य पदार्थहरु गिट्टी तथा बालुवा उत्खनन गरिरहेको अवस्थामा चार वटा ट्रयाक्टरहरुलाई प्रहरीले समातेको हो।
सेती नदीमा नदीजन्य पदार्थहरु उत्खनन गरिरहेको अवस्थामा पुगेको स्थायी प्रहरी पोष्ट चाउथेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रयोजन खुल्ने कागजात साथमा नभएकोले ती ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरी टोलीले नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न गरी लोड गर्दै गरेको अवस्थामा ग १ त ३३२० , ग १ त ३३३१, ग १ त ३६२४ र ग १ त ६५१७ नम्बरको समेत गरी कुल चार वटा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।
समातिएका चार वटै ट्रयाक्टरहरुलाई आबश्यक कानूनी कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ।