मुख्यमन्त्री अधिकारीले एकैदिन पोखरा १६ अर्मलाका दुई वटा पुल र एक पिच बाटो उद्घाटन गरे

मुख्यमन्त्री अधिकारीले एकैदिन पोखरा १६ अर्मलाका दुई वटा पुल र एक पिच बाटो उद्घाटन गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ जेष्ठ २०८१
  • 6.2K
    Shares

पोखरा ६ जेठ २०८१ /

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलामा नवनिर्मित पुल र पिच बाटोको शनिबार उद्घाटन गरेका छन्। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङको साथमा अर्मला पुगेका मुख्यमन्त्री अधिकारीले शनिबार एकै दिन भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्‍याले सडकको उद्घाटन गरेका हुन्। ती यॉजानहरु गण्डकी प्रदेश सरकारको लगानी बनेका हुन्

पूर्वाधार विकास कार्यालय कास्कीका सि.डि.इ.शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पारेका थिए । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा शुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका योजना हुन् ।

भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम तीन करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब सात सय मिटरसडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई आठ मिटर रहेको छ ।

भूतेखोला मोटरवेल पूल निर्धारित समय भन्दा चार महिना अगाडि सम्पन्न भएको बताइएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । तीन करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटरको लम्बाइको रहेको छ ।

घुरकुना दाद्रे ¥याले सडक तीन करोड ५८ सम्झौता भएपनि तीन करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल तीन किमी सडक मध्ये आठ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औल्याउनुभयो । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

‘पूर्वाधार गाउँमा हुने तर मानिसहरु गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’ उहाँले भन्नुभयो ।
अर्मलामा बेला–बेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उहाँले प्रकृतिको दोहोन ठीक तरिकाले हुनुपर्नेमा जोड दिनुभयो । जनसंख्या वृद्धि भएपनि खोलाघरलाई कायमै राख्न उहाँको सुझाब छ । निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्ने उहाँले खुलाउनुभयो । दबाब आयो भन्दैमा जोखिम बढी भएको ठाउँमा घरहरु निर्माण गर्ने अनुमति नदिन प्राविधिकहरुलाई समेत निर्देशन दिनुभयो ।

‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढेपनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले पोखरा १६ को विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगकको लागि सदैव तयार रहेको बताउनुभयो ।

पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहजीकरण श्यामलाल लामिछानेले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार