सहचालकको लापरवाहीले ११ जनाको ज्यान गयो

सहचालकको लापरवाहीले ११ जनाको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ जेष्ठ २०७३
  • 12K
    Shares

लमजुङको मध्यनेपाल नगरपालीका ५ तामाखानीमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ । सह–चालकको गम्भीर लार्पवाहीले  गर्दा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइतेको पोखरा स्थित मणीपाल अस्पतालमा उपचार भइरहेको छ । दमौली हुँदै लमजुङको जिताकोट हिँडेको ना ६ ख ४१३६ नम्वरको बस साँझ ५ बजे दुर्घटनाग्रस्त भएको थियो ।
बस घटनास्थलबाट २ सय मिटरभन्दा बढी तल खस खसेको थियो । दुर्घटनामा परी घटनास्थलमै मध्यनेपाल–१, जिताकोटका ४० बर्षीय रमा गुरुङ, ६० बर्षीय रामकृष्ण गुरुङ , ८० बर्षीय चिनमाया गुरुङ, ३५ बर्षीय राजिन गुरुङ, ४५ बर्षीय शेरवहादुर खवास, ३० बर्षीय गणेश गुरुङ, ४५ बर्षीय  मिनाकुमारी गुरुङ, १८ बर्षीय  सविना खवास र ४५ बर्षका नारायण थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए । त्यस्तै, उपचारको क्रममा तीन महिने दुधे बालिका सोनिसा खवास र सागर थापाकोको मृत्यु भएको  थियो । मृतकहरुलाई पोष्टमार्टमका लागि दमौली लगिएको स्थानीय चन्द्रमणी पौडेलले बताए ।

दुर्घटनापछि शोककाकुल जिताकोटबासी

बुहारी सबिनाको घटनास्थलमै मृत्यु भइसकेको थियो, सानी बालिकाको उपचारको क्रममा । उनको श्रीमान् र छोरा सख्त घाइते भएका छन् । घटना सम्झंदै उनी बारम्बार आँसु झार्छिन् ।  थातथलो जिताकोटनै भएपनि हाल भरतपुर बस्दै आएका रामकृष्ण गुरुङ दम्पतीको परिवार पनि शोकमा छ । गाउँमा बैशाख पूर्णिमा र कुलायन पुजाकोका लागि आएका उनीहरुको घटनास्थलमै निधन भएको थियो ।
गाउँमा कुलायन पुजाको तयारी सबै रोकिएको छ । शनिबार हुने कुलायन पुजाका लागि जिताकोटमा धुमाधाम तयारी थियो । गाउँकै एघार जनाको निधन भएपछि रुवाबासी चलिरहेको  छ ।
तामाखानी–जिताकोट सह–चालककै भर  
मध्यनेपालको नगरपालिकामा पर्ने तान्द्राङ भन्ने स्थान कटेपछि आउँछ तामाखानी । तामाखानी देखि जिताकोटसम्म करिब दुई किलोमिटर मोटरबाटो सम्म छ । बारीका कान्ला जस्ता गराहरु रोडको तल छ । त्यसभन्दा तल भीर ।
बिहीबार दुर्घटनाग्रस्त बस पनि त्यही सहज स्थानमै दुर्घटनाग्रस्त भयो । तीब्र गतिमा आएको बस सह–चालकले  कन्ट्रोलमा ल्याउन नसकेपछि दुर्घटनाग्रस्त भएको थियो । बारीमा गुल्टंदै भीरसम्म पुगेपछि धेरै यात्रुले ज्यान गुमाएका थिए ।
बसका सह–चालक सन्तोष बसौलाले बस चलाएको त्यो पहिलोपटक थिएन्, स्थानीय गोविन्द गुरुङले भने, ‘तामाखानी–जिताकोट उसैको भरमा चल्थ्यो ।’ बिगत केही महिना देखि तामाखानी–जिताकोट सह–चालकलेनै चलाउँदै गरेको उनले बताए । बसका चालक सुरज बि.क प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया