पोखरा, २ जेठ २०८१/
मोरङमा प्रहरीले मंगलबार दिउस्न्सो लागू औषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाैं र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका–६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका भारतीय नागरिक ३४ बर्षीय भगिरथ हरिजनलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको हो।
बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा एक जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएको प्रहरीले दाबी गरेको छ। त्यसपछि प्रहरीले प्रतिकार स्वरुप दुई राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले एकसय ४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।