पोखरा, ३० बैशाख २०८१/
दाङमा एक जना अटो चालकले दुई जना महिलाको बन्चरो प्रहार गरी हत्या गरेका छन्। दाङको घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न करीब पांच बजेको समयमा अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका हुन् ।
लामो समयदेखि अटो चढेर पैसा नदिएको भन्दै रोल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीले शनिबार बेलुका दुई महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
अटोचालक घर्तीले घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लाले जानकारी दिए ।
घर्तीले सधैंजसो ती दुई महिलालाई अटोमा बजारबाट घर छोड्ने गरेको र शनिबार पनि घर छोडेको केहीबेरमा विवाद भएपछि भान्सा कोठामा बन्चरो प्रहार गरी घरमै हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । हत्यापछि घर्ती अटो छोडेर भागेका थिए ।
एसपी केसीका अनुसार घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन् ।
ती दुई महिलाको हत्या आरोपमा प्रहरीले अटो चालक घर्तीलाई पक्राउ गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।