जिल्ला विकास समिति र गाउँ विकास समिति भंग भएपछि जिल्लामा घोषणा गरिएका कास्कीका पाँचवटै स्थानीय तहले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन्। गाउँपालिका र नगरपालिकाको रुपमा विभाजन गरिएपछि सबै स्थानीय तहका कार्यकारी अधिकृतहरुले सेवा सुरु गर तर गाउँपालिकाहरुमा आवश्यक कर्मचारी र भौतिक संरचना भने छैन। हाल गाविस कार्यालय रहेका ठाउँबाट गाउँपालिकाको काम गरिएको छ। सरकारले गाउँपालिका र नयाँ नगरपालिकामा उपसचिवसहित नौ जना कर्मचारी खटाउने भनिए पनि नासुको भरमा गाउँपालिका छोडिएको छ।
सबै केन्द्रमा तीनकोठे भवन छ। खानेपानीको राम्रो ब्यवस्था छैन। नजिक होटल रेष्टुरेण्टहरु छैनन्। मुख्य राजमार्गबाट गाउँपालिकाको केन्द्रसम्म पुग्न १ घण्टादेखि ३ घण्टासम्म लाग्छ। स्तरीय सडक छैन। सञ्चार सुविधा पनि उति सहज छैन। गाविस छँदा सदरमुकामबाट सेवा दिइरहेका गाविस सचिवहरुको काँधमा गाउँपालिका भएकाले केन्द्रबाट सेवा प्रवाह गर्न त्यति सजिलो छैन। आवश्यक पूर्वाधार र जनशक्ति नभएपछि निर्देशिकाअनुसारका सेवा प्रवाह गर्न नसकिने स्वयं गाउँपालिकाका कार्यकारी अधिकृतहरु बताउँछन्।
जिल्ला समन्वय समितिले सोमबार पोखरा लेखनाथ महानगरपालिकामा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना र अन्य गाउँपालिकाहरुमा साविकका गाविस कार्यालयमा कार्यरत वरिष्ठ सचिवलाई कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ।
जसअनुसार अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा लुम्ले गाविसका सचिव तोयानाथ तिमिल्सिना नियुक्त भए। माछापुच्छ्रे गाउँपालिकामा लाहाचोक गाविसका सचिव बोधराज सापकोटा कार्यकारी अधिकृत भए। रुपामा रुपाकोट गाविसका सचिव कुलप्रसाद पौडेल र मादीमा थुमाकोडाँडा गाविसका सचिव रविमोहन सापकोटा कार्यकारी अधिकृत भएका छन्। अन्य सचिवहरुलाई वडासचिवको रुपमा काम गर्न मन्त्रालयले निर्देशन पठाइसकेको छ। जिल्लाका सबै स्थानीय तहमा लेटर प्याड, छाप र नयाँ बोर्ड ब्यवस्थापन भैसकेको जिल्ला समन्वय समितिले जनाएको छ।
‘नयाँ संरचनामा काम गर्न थाले पनि साइनबोर्ड र लेटरप्याडमात्रै फेरिएको छ’-उनीहरुले भने-आवश्यक जनशक्ति र निर्वाचित प्रतिनिधि नभएसम्म सेवाग्राहीले फेरिएको सुविधा महसुस गर्न पाउँदैनन्। जतिसक्दो छिटो चुनाव गरियोस्।’ तत्कालका लागि संक्रमणकालीन ब्यवस्थापन गरिएकाले सुझबुझका साथ काम गर्न कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले आग्रह गरे। उनका अनुसार प्रत्येक गाउँपालिकालाई नौ जनाका दरले कर्मचारी ब्यवस्था गरिएको छ। उपसचिव वा अधिकृतस्तरको कर्मचारीको मातहतमा सिभिल जनरल इञ्जिनियर एक, कम्प्युटर इञ्जिनियर एक, नायव सुब्बा एक, लेखापाल एक, सब इञ्जिनियर दुर्इ र कार्यालय सहयोगी दुर्इ जना रहनेछन्। यस्तै वडामा वडासचिव, एकजना लेखापाल र एकजना कार्यालय सहयोगी हुनेछन्। साविकका गाविसमा दुर्इ वा सोभन्दा बढी वडा भए संयुक्त वडाको रुपमा काम काम गर्न समितिले निर्देशन दिएको छ। गाविसबाट गरिने कामकाज वडा कार्यालय र जिल्ला तहबाट हुँदै आएका कामहरु गाउँपालिका र नगरपालिकाको कार्यालयबाट गर्ने गरी स्वायत्तता दिइएको छ। चालु वर्षका लागि गाविसले सञ्चालन गरिरहेका कार्यक्रमहरु गाउँपालिकाको समन्वयमा वडा तहबाटै कार्यान्वयन हुने ढकालको भनाइ छ। अहिले नियुक्त गरिएका गाउँपालिकाका कार्यकारी अधिकृतहरु निमित्त हुन्। यही चैत ३ गतेसम्म सरकारले सबै गाउँपालिकामा अधिकृत वा उपसचिवस्तरको गाउँपालिकाको कार्यकारी अधिकृत पठाउने तयारी गरिरहेको छ। नयाँ कर्मचारी आएपछि हाल नियुक्त भएका सबै गाउँपालिकाका कार्यकारी अधिकृतहरुको पदावधि स्वतः सकिनेछ।
दायित्व थपियो- नवराज ढुंगाना , कार्यकारी अधिकृत, पोखरा लेखनाथ महानगरपालिका

संविधानतः निर्वाचित प्रतिनिधि आएपछि परिकल्पना गरिएका स्थानीय तहको जिम्मेवारी फेरि पनि कर्मचारीको काँधमा गएको छ। त्यसैले सेवा प्रवाह पोखरा लेखनाथ महानगरपालिकाको सबैभन्दा ठूलो चुनौती हो। यहाँको भौगोलिक विविधता र पूर्वाधारको असुविधाकै कारण सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न समस्या हुने कार्यकारी अधिकृत नवराज ढुंगाना बताउँछन्। ‘मुलुककै ठूलो महानगर बन्नु हाम्रो शौभाग्य हो तर हामीमा जिम्मेवारी झनै थपिएको छ’-सोमबार कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने-’गाविसबाट सिधैँ महानगरको बासिन्दा बनेका सेवाग्राहीलाई नगरबासी भएको अनुभूति हुने गरी सेवा दिनुस्। त्यो हाम्रो दायित्व हो।’ महानगरपालिकाले ३३ वटै वडामा वडासचिव समेत खटाएको भन्दै उनले अन्य कर्मचारीहरुको व्यवस्थापन, वडा केन्द्रको टुंगोलगायतका विषयमा क्रमिक सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए।
पूर्वाधार सबैभन्दा चुनौती – बोधराज सापकोटा, कार्यकारी अधिकृत, माछापुच्छे्र गाउँपालिका

हाम्रा विकासहरु सदरमुकामकेन्द्रित छन्। वडा तहका सेवाग्राही नागरिक गाउँपालिकाको केन्द्रसम्म आइपुग्ने पूर्वाधार बनेको छैन। गाउँपालिकाको कार्यालय कर्मचारीलाई पुग्ने खालको छैन। पुग्ने गरी वडासचिव खटाउन सकिने अवस्था पनि छैन। माछापुच्छ्रे गाउँपालिकाका कार्यकारी अधिकृत बोधराज सापकोटाले सहरकेन्द्रित विकासका कारण तत्काल जनतालाई गाउँपालिकामा सेवा लिन जाने वातावरण सिर्जना गर्नु चुनौती रहेको बताए। थप कर्मचारी नपर्ठाई भएकै कर्मचारी यताउति गरेर जनताले सहज सेवा पाउन नसक्ने उनको भनाइ छ। ‘संविधानले तोकेका सेवा तत्काल प्रवाह गर्न सक्ने अवस्था छैन। गाविस सचिवलाई गाउँपालिका प्रमुख बनाइएको छ’-उनले भने-’पूरापूर जनशक्ति भर्ना नगरेसम्म र जननिर्वाचित प्रतिनिधि नआएसम्म जनताले परिवर्तनको आभाष गर्न पाउँदैनन्।’ स्पष्ट नीति र निर्देशन नभएका कारण काम गर्न समेत मेसो नपाएको उनी बताउँछन्। नौ वडा रहेको माछापुच्छ्रे गाउँपालिका कास्कीकै सबैभन्दा ठूलो स्थानीय तह हो।
कर्मचारीको अपडेटसहित अपग्रेड आवश्यक – कुलप्रसाद पौडेल, कार्यकारी अधिकृत, रुपा गाउँपालिका

वडा विभाजन भएका ठाउँमा कर्मचारी ब्यवस्थापन गर्न गाह्रो छ। गाविसको भवन साँघुरो छ। थप कर्मचारी आउँदा बस्ने ठाउँ छैन। यातायातको चुनौती उस्तै छ। ‘सदरमुकाम जाँदा गाडी चढेर जानेहरु गाउँपालिकाको केन्द्र आउँदा हिडेर आउनुपर्ने अवस्था छ’-रुपा गाउँपालिकाका कार्यकारी अधिकृत कुलप्रसाद पौडेल भन्छन्-’खानेपानीको अभाव छ, होटल रेष्टुरेण्ट छैन।’पुराना कर्मचारीहरुले गाविसमा काम गरिरहेकाले नयाँ संरचनाअनुसार काम गर्नका लागि तत्काल तालिमको ब्यवस्था गरिनुपर्ने उनको माग छ। ‘नियमित काम गर्न हामीलाई गाह्रो छैन। तर नयाँ संरचनामा अपडेट हुन तालिम चाहिन्छ’-उनले भने-’अरु स्थानीय तहसँग प्रतिष्पर्धा गर्ने कर्मचारी तयार नगरे दीगो संरचना बन्दैन। कर्मचारीलाई अपडेटसहित अपग्रेड गरिनुपर्छ।’
हाम्रा लागि अवसर हो-तोयानाथ तिमिल्सिना, कार्यकारी अधिकृत, अन्नपूर्ण गाउँपालिका

कार्यकारी अधिकृत तोयानाथ तिमिल्सिना सेवा प्रवाहका हिसाबले खासै समस्या देख्दैनन्। ‘निर्देशिकाअनुसारका सेवा मंगलबारदेखि नै सुरु हुन्छन्। मंगलबार १२ बजेसम्म सबै वडामा वडा सचिव खटाउँछौं’-उनले भने-’जनताले दुःख नपाउने गरी सेवा दिन सबै सचिवहरुलाई आग्रह गरिसकेको छु। साविकभन्दा सुधारिएको सेवा जनताले अनुभूत गर्छन्।’ तिमिल्सिना सेवाग्राही र सेवाप्रदायकलाई पनि नयाँ संरचना अवसरको रुपमा लिन्छन्। उनले गाउँपालिकाको केन्द्रका विषयमा भने असन्तुष्टि ब्यक्त गरे। ‘हामीले निर्णय नगरेको ठाउँमा गाउँपालिकाको केन्द्र तोकियो। लुम्लेसम्म पुगेर सेवा लिन सजिलो छैन’-उनी भन्छन्-’यो निर्णय तत्काल सच्याइनुपर्छ। पायक पर्ने ठाउँमा कार्यालय स्थापना गरिनुपर्छ।’ लुम्लेको काँडेमा प्रस्ताव गरिएको भए पनि अन्नपूर्ण गाउँपालिकाको केन्द्र लुम्ले गाविसको कार्यालयलाई तोकिएको छ। तिमिल्सिनाका अनुसार लेटरप्याड र छापका कारण केही समय पञ्जिकरणको काममा भने अन्यौलता हुने बताए।
पहुँच पुर्याउन चुनौती छ-रविमोहन सापकोटा, कार्यकारी अधिकृत, मादी गाउँपालिकाका

कार्यकारी अधिकृत रविमोहन सापकोटाले केही पिछडिएको गाउँपालिका भएकाले केन्द्र र जिल्लासँग पहुँच राख्ने माध्यम नभएको बताएका छन्। उनले गाउँपालिकाको केन्द्रसँग सडकको सहज पहुँच नभएको भन्दै तत्काल स्तरोन्नतिका लागि आग्रह गरे। ‘गाउँपालिकाको केन्द्र अलि अपायक ठाउँमा छ। बाह्रै महिना गाडी चल्न सक्ने बाटो छैन’-उनी भन्छन्-सडक स्तरोन्नति गरेर जतिसक्दो छिटो आइटीको ब्यवस्था गरिनुपर्छ।’आयोगले खटाएअनुसारका कर्मचारीलाई पुग्ने गरी भौतिक संरचनासमेत नभएको उनले बताए। १२ वडा रहेको मादी गाउँपालिकाका पाँच वटा वडामा सचिव अपुग छ। सापकोटाले तत्काल वडा सचिव र सूचना प्रविधिको माग गरेका छन्।