महानगरपालिका घोषणा भएसँगै कास्कीकोटका जीवन सुवेदीले फेसबुकमा लेखे, ‘अब पोखरा जानै पर्दैन बुबा, पोखरा घरमै आइसक्यो ।’ सुवेदीजस्तै धेरैजना गाविसबाट महानगरपालिकाबासी भएकोमा खुसी र उत्साही देखिए । कास्कीकोट, मौजा, चापाकोट, भदौरेतमागी, माझठाना, कालिका लगायत साविकका गाविस महानगरपालिकामा परपछि त्यहाँका सेवाग्रहीलाई यसको अनुभूति गराउनुपर्ने चुनौती थपिएको छ । सोमबार महानगरपालिकाको सेवा आरम्भमा यही कुरालाई जोड दिँदै कार्यकारी अधिकृत नवराज ढुंगानाले भने, ‘मुलुककै ठूलो महानगर बनेका छौं । सेवाग्राहीको आशा पनि ठूलै छ । सेवाग्राहीको मन जित्नु यो सुनौलो अवसर र चुनौती दुवै हो ।’
स्थानीय तह कार्यान्वयनमा आएपछि कास्कीमा सोमबार औपचारिक कार्यारम्भ सुरु भएको हो । कास्कीको १ पोखरा महानगरपालिका र ४ गाउँपालिकामा प्रमुख तोकेर औपचारिक सेवा प्रवाहका लागि निर्देशन दिइएको छ ।
साविकका पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका सहित गाभेर बनेको पोखरा लेखनाथ महानगरपालिका ३३ वडामा सचिव तोकर वडावडामा गएर सेवाग्राहीको मन जित्ने गरी काम थाल्न कार्यकारी अधिकृत ढुंगानाले निर्देशन दिए । महानगरबासी हुनुको बोध गराउने दायित्व कर्मचारीको हुने भएकाले अझ बढी जिम्मेवारी र मेहनतका साथ काम गर्न ढुंगानाले आग्रह गरे ।
महानगरका ३३ वटा वडामा सचिवको रुपमा १९ जना खरिदार र १४ जना नायव सुब्बालाई खटाइएको छ । खटाइएका कर्मचारीमध्ये ५ जना निजामती र अन्य महानगरपालिकाका कर्मचारी हुन् । मंगलबार नै सचिवको सहयोगीका रुपमा एकएक जना खटाइने ढुंगानाले जानकारी दिए । प्रत्येक वडामा कम्तीमा ७ जना कर्मचारी आवश्यक पर्ने भए पनि तत्काल त्यो जनशक्ति पूरा गर्न नसककिने उनको भनाइ थियो ।
‘अन्य कर्मचारीको व्यवस्थापन, वडा केन्द्रको टुंगो लगायत विषय क्रमिक व्यवस्थापन गर्ने गरी पहिलो चरणमा वडा सचिवलाई खटाइएको हो,’ कार्यकारी ढुंगानाले जानकारी दिए । छिट्टै केन्द्रको विषयमा जानकारी दिइने बताउँदै साविकको वडा कार्यालय वा सचिवलाई सजिलो हुने स्थानबाट काम थाल्न ढुंगानाले निर्देशन दिए ।
थपिएका गाविसका सचिवलाई नै त्यही वडाको सचिवको जिम्मेवारी दिइएको छ भने अन्यमा सिनियर कर्मचारीलाई खटाइएको छ । वडा सचिवका रुपमा खटिएका कर्मचारीलाई स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ लाई महानगरपालिकाका महाशाखा प्रमुखहरुले जानकारी गराए ।
कास्कीमा महानगरपालिकाका वडा सचिव र ४ गाउँपालिका प्रमुखले कार्यालय बोर्ड, आधिकारिक छाप, लेटर प्याड लगायत आवश्यक सामाग्री हस्तान्तरण गरी सेवाप्रवाह थाल्न निर्देशन दिइएको हो ।
कास्कीका ४ गाउँपालिकामा साविकका गाविस सचिवमध्येबाट वरिष्ठताको आधारमा प्रमुख तोकिएको छ । जसअनुसार अन्नपूर्णमा साविक लुम्ले गाविसका सचिव तोयानाथ तिमिल्सिना, माछापुच्छ«ेमा लाहाचोकका सचिव बोधराज सापकोटा, रुपामा रुपाकोटका सचिव कुलप्रसाद पौडेल र मादी गाउँपालिका प्रमुखको रुपमा थुमाकोडाँडा गाविस सचिव रविमोहन सापकोटालाई जिम्मेवारी दिइएको हो ।
कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले जनसंख्या र कार्यबोझको आधारमा मन्त्रालयले कार्यकारी अधिकृत नखटाएसम्मका लागि यो व्यवस्था गरिएको बताए । महानगर र गाउँपालिकामा गाभिएका साविक गाविस र वडा सचिवले सम्बन्धित वडाकै सचिवको रुपमा काम गर्ने अन्तरकालीन व्यवस्था सरकारले गरेको छ ।
कास्कीमा स्थानीय तह औपचारिक रुपमा कार्यान्वयन भएसँगै कतै खुसी र उत्साह त कतै आन्दोलन सुरु भएको छ । गाउँपालिका र वडामा कर्मचारी खटाएर काम सुरु भइरहँदा ढिकुरपोखरीवासी महानगर र कृस्तीबासी छुट्टै वडाको माग गर्दै आन्दोलनमा उत्रिए ।
कुन वडामा कुन सचिव
वडा सचिव
१ महेन्द्र खवास
२ यम बहादुर क्षेत्री
३ सविता तामाङ
४ केशवराज कोइराला
५ कुमबहादुर तामाङ
६ राजुबहादुर कोइराला
७ रमेश पौडेल
८ दीपबहादुर कोइराला
९ लोकदर्शन कोइराला
१० नवराज थापा
११ सूर्यमोहन पौडेल
१२ श्रीकान्त तिमिल्सिना
१३ हर्कबहादुर कुँवर
१४ अर्जुनप्रसाद पौडेल
१५ विष्णुप्रसाद लामिछाने
१६ एकबहादुर बस्नेत
१७ प्रजापति बराल
१८ रुद्रप्रसाद बस्ताकोटी
१९ हरिप्रसाद अधिकारी
२० चेतराज आचार्य
२१ मुक्तिनाथ पोखरेल
२२ रामप्रसाद पौडेल
२३ शेरबहादुर कुँवर
२४ नारायण अधिकारी
२५ ईश्वरीप्रसाद बास्तोला
२६ सावित्री बराल
२७ लिलामणि भण्डारी
२८ शोभाखर ढकाल
२९ सावित्रा पौडेल
३० मीना भट्टराई भण्डारी
३१ रेशमलाल पौडेल
३२ जीवनाथ पराजुली
३३ विष्णुप्रसाद बराल
गाउँपालिका र प्रमुख
अन्नपूर्णः तोयानाथ तिमिल्सिना
माछापुच्छ्रेः बोधराज सापकोटा
मादीः रविमोहन सापकोटा
रुपाः कुलप्रसाद पौडेल
कृस्ती र ढिकुरपोखरीबासी आन्दोलनमा
सेवा प्रवाहमा असहज हुने गरी स्थानीय तह पुनर्संरचना भएको भन्दै कृस्ती र ढिकुरपोखरीबासी आन्दोलनमा उत्रिएका छन् । २ वडालाई गाभिएको भन्दै कृस्तिवासी आन्दोलनमा उत्रिएका हुन् भने पोखरा लेखनाथ महानगरमा समाहित गर्न माग गर्दै ढिकुरपोखरीबासी आन्दोलनमा उत्रिएका हुन् ।
पोखरा उपमहानगर २३ निर्मलपोखरी र २४ कृस्तीलाई गाभेर महानगरपालिकाको २१ नम्बर वडा बनाइएको भन्दै कृस्तीबासी आन्दोलनमा उत्रिएका छन् । ३ सय १ सदस्यीय वडा संघर्ष समिति नै गठन गरी कृस्तीबासीले सोमबार साविकको २४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्षेत्रफल तथा जनसंख्याका हिसाबले पोखरा २४ कृस्ती आफैंमा ठूलो वडा भए पनि अन्य वडामा मिसाएर थप सामाजिक तथा भौगोलिक जटिलता थप्ने काम भएको संघर्ष समितिको ठम्याइ छ । निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने संघर्ष समिति संयोजक पूर्णबहादुर थापाले जानकारी दिए ।
समितिले सोमबार नै स्थानीय विकास अधिकारी वलराम ढकाल, राजनीतिक दल, जिल्ला प्रशासन लगायतलाई ज्ञापनपत्र बुझाएको छ । निर्णय नसच्चिए महानगरपालिका घेराउ, निर्वाचनका सबै कार्यक्रम र महानगरपालिकाका सेवा सुविधा बहिस्कारसम्म गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।
यस्तै ढिकुरपोखरी गाविसलाई अन्नपूर्ण गाँउपालिकामा राखिएको र केन्द्र समग्र गाविसवासीका लागि अपायक भएको भन्दै पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने माग ढिकुरपोखरीबासीको छ । पहिले गाउँपालिका र महानगरपालिका भन्ने दुईथरी आवाज ढिकुरपोखरीवासीको थियो ।
अहिले गाउँपालिकाको केन्द्र अपायक पर्ने गरी साविकको लुम्ले गाविस कार्यालयलाई तोकिएपछि आन्दोलन गर्न बाध्य हुनुपरेको संघर्ष समितिका सचिव नारायणप्रसाद भण्डारीले जानकारी दिए । ‘पहिले गाउँपालिका र महानगरको पक्षमा ढिकुरपोखरीवासी थिए,’ भण्डारीले भने, ‘अहिले अन्नपूर्ण गाउँपालिकाको केन्द्र अपायक पर्ने ठाउँमा तोकिएपछि सबै एक भएका छौं ।’
गाविसवासीले पोखरा बागलुङ राजमार्गको नागडाँडा खण्डमा सोमबार दिउँसो १ घन्टा चक्काजाम गरेका छन् भने ढिकुरपोखरी गाविसको सर्वदलीय बैठकले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने निर्णय गरेको छ । आजको समाधान दैनिकमा खबर छ ।