पोखरा, २६ बैशाख २०८१/
अनलाइन सट्टेबाजीz (जुवा) खेलाउने १३ जना भारतीय नागरिकहरू बुटवलबाट पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित अञ्जन शर्माको घरमा फ्ल्याट लिएर जुवा खेलाइरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। फेयर प्ले (अनलाइन बेटिङ साइट)मार्फत उनीहरूले जुवा खेलाइरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
पक्राउ परेका नागरिकहरूबाट १३ थान ल्यापटप, ४० थान मोबाइल सेटहरू, १३ थान सिमकार्ड, १८ थान सिमकार्डका खोल, भारतीय बैंकका चेक, आधार कार्डहरू बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थपको अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी भट्टले जानकारी दिए।