नोटमा चुच्चे नक्शा राख्ने नेपालको निर्णयप्रति भारतीय विदेशमन्त्रीले दिए “जमिनको यथार्थ नबदल्ने” प्रतिक्रिया

नोटमा चुच्चे नक्शा राख्ने नेपालको निर्णयप्रति भारतीय विदेशमन्त्रीले दिए “जमिनको यथार्थ नबदल्ने” प्रतिक्रिया


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ बैशाख २०८१
  • 7.8K
    Shares

भारतीय विदेशमन्त्री एस जयशंकर

पोखरा, २३ बैशाख २०८१/

नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय गरेको प्रति असन्तुष्टि प्रकट गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि प्रकट गरेका हुन्।

नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो।

उक्त पत्रकार सम्मेलनमा पत्रकारले राखेको एक प्रश्नमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालको उक्त निर्णयप्रति संकेत गर्दै अघि भने, “‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन।”

सन् १८१६ को सुगौली सन्धिले काली नदीलाई नेपालको पश्चिमी सीमा मानेको छ। नेपालले सीमा छुट्याउने त्यो काली नदी लिम्पियाधुराबाट निस्केको नदी नै भन्दै आएको छ। तर, भारतले कालापानीमा भारतीय फौज बसेको स्थाननजिकैको सानो खोल्सोलाई काली नदी नामाकरण गरेको छ। तर, सो खोल्सो त्यसभन्दा पश्चिमतर्फको जमिन अतिक्रमणका लागि भारतले कृत्रिम रुपमा तयार गराएको नेपाली विज्ञहरुको धारणा छ।

नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्शा’ जारी गरेको थियो। नयाँ नक्शाअनुसार नेपालको कुल क्षेत्रफल एकलाख ४७ हजार पांच सय १६ वर्ग किलोमिटर कायम भएको थियो।

त्यतिखेर अतिक्रमित नेपाली भूमिमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि नेपालले सो नक्शा जारी गरेको थियो। जसलाई संसदले अनुमोदन गरेको थियो।

नेपालको सो कदमको विरोध गर्दै भारतले त्यसलाई नस्वीकार्ने बताएको थियो। पछिल्लो समय सीमा समस्याबारे द्विपक्षीय संयन्त्रहरुमा नेपाल र भारतबीच वार्ता हुन सकेको छैन।

प्रतिक्रिया