पोखरा, २० बैशाख २०८१/
पर्बत जिल्लाको जलजलामा भएको बृद्ध दम्पत्तिको हत्यामा संलग्न दुई जनालाई प्रहरीले ठिक एक महिना पछी पक्रुआ गरेर सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्बतले पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्रीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको दुई जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
सूर्यबहादुर घर्ती क्षेत्री दम्पत्तिको हत्यामा संलग्न रहेको आरोपमा जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए।
प्रहरीका अनुसार, १४/१५ वर्षदेखि बौरमा बस्दै आएका दीपक बेनीको बौर बजारमा सामान्य घर बस्दै आएकोमा घटना हुनुभन्दा एक हप्ता अगाडि पारिवारिक बेमेलका कारण श्रीमती र छोरा छोरी सहित पोखरा महानगरपालिका–८ नयाँ बजारमा डेरा सरेका थिए।
घटना हुनुभन्दा १०/१५ दिन अगाडि नै कृष्ण र दीपकबीच मादक पदार्थ र गाँजा सेवन गरी घटना घटाउने बारेमा कुराकानी भएको प्रहरीले बताएको छ। सोही अनुसार चैत १८ गते नै दीपक पोखराबाट जलजला–२ को बौरमा पुगेर कृष्णसँग भेट गरे। नजिकैको पसलमा मादक पदार्थ सहित केही खानेकुरा किनेर कालीगण्डकी नदीको किनारमा बसेर सेवन गरे अनि मृतक दम्पतीको घरतर्फ लागे।
त्यो बेलामा सूर्यले गाई दुहुँदै थिए भने गमला पसलमा थिइन्। प्रदीवादीहरूले वृद्ध दम्पतीसँग करिब आधा घण्टा कुराकानी गरे, उनीहरूले लगाएका गरगहना, भौगोलिक अवस्थिति, सडक लगायतका बारेमा अध्ययन पनि गरे। उक्त दिन दुवै जना प्रतिवादीहरू कृष्णकै घरमा गएर बसे। चैत १९ गते खाना खाएर अतिरिक्त लुगाफाटा, हँसिया, माछा मार्ने बल्छी लगायतका सामग्री किनेर कालीगण्डकीमा पुगे।
माछा नपरेपछि चाउचाउ, चुरोट र रक्सी किनेर उकालो लागे अनि रातीको करिब आठ बजेसम्म जङ्गलमा नै बसेर रक्सी सेवन गरे। साढे आठ बजेको समयमा सूर्यबहादुरको घर नजिकै पुग्दा सूर्यबहादुर सहितका मान्छेहरूले सूर्यबहादुरको घर अगाडि भएको आगलागी निभाउँदै थिए। अभियुक्तहरू केही पर गई लुके। आगो निभाएकाहरू घर फर्किएको यकिन गरेर उनीहरू सूर्यबहादुरको आँगनमा पुगे अनि उज्यालोको लागि आँगनमा राखेको विद्युतको बल्ब निकाले। कृष्णबहादुरले आफूलाई चुरोट चाहिएको भन्दै सूर्यलाई बोलाए, चुरोट किने अनि पैसा पनि तिरे। तर बाहिरको बत्ती नबलेको भन्दै सूर्यले भित्रबाट टाउको बाहिर निकालेको मौका पारेर कृष्णबहादुरले काठको लाठीले टाउकोमा प्रहार गरे।
मृतक सूर्यबहादुरले गुहार मागेपछि श्रीमती गमला गुहार माग्दै गर्दा दीपकले लात्तीले हानेर घरको मूल ढोका फुटाए अनि लात्ती र लाठीले टाउकोमा प्रहार गरेर हत्या गरे। त्यतिले नपुगेर हँसियाले घाँटी पनि रेटे। सूर्यबहादुरको टाउको र घाँटीमा पनि सोही हँसिया प्रहार भयो।
उनीहरूको हत्या गरेपछि अभिुयुक्तहरूले मृतकको शरीरमा रहेका सुनका गहना, पसलमा रहेको नगद र रिचार्ज कार्ड लुटेर बाहिरबाट ढोकामा ताला लगाएर बाटो लागे। उनीहरूले पर्वत जिल्लापट्टिको कच्ची सडक हुँदै हिँडेर पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गामा आइपुगेपछि बिहान करिब साढे पाँच बजेको समयमा पोखरा जाने बसमा चढे।
बिहान सात बजे पोखरामा झरेर गहनामा लागेको रगत सफा गरेर बाँडफाँट गरेर आफ्नो बाटो लागे। कृष्णले आफ्नो भागमा परेको सुनका गरगहना माइला बुबा पर्ने कर्णबहादुर बिकलाई गाल्न लगाए अनि गालेको सुन बागलुङमा बस्दै आएका परशुराम बि.क.लाई बिक्री गरे।
हत्यामा संलग्न रहेका तथा लुटिएको सुनको कारोबारमा संलग्न रहेका चारै जनालाई गत मङ्गलवार मात्रै बागलुङ र पर्वत जिल्लाबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भुसालले बताए।
घटनामा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट संयुक्त रूपमा ‘अपरेसन लालीगुराँस’ नाम दिएर अनुसन्धान थालिएको थियो।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले घटनाको अवस्थाका बारेमा प्रारम्भिक अनुसन्धान हत्या नै भएको शङ्का गरेपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर सहितको विशेषज्ञ टोली आयो। तर पनि घटनाका विषयमा कुनै पनि तथ्यहरू बाहिर आएनन्। जे तथ्य पायो प्रहरीले त्यसैको आधारमा गोप्य रूपमा अनुसन्धान जारी नै राख्यो।
यसैको परिणाम स्वरूप घटना भएको ठिक एक महिनामा नै पर्वत प्रहरीले घटनाका दोषीहरू सहित यससँग जोडिएका तथ्यहरू सार्वजनिक गरेको छ।