पोखरा, २० बैशाख २०८१/
गएराती पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा गएराती आगलागी भएको हो।
बुधबार राति भएको उक्त आगलागीमा परेर करीब एक करोड रुपियाँ बराबरको विद्युतीय सामाग्रीहरु जलेर ध्वस्त भएको हाराहारीको क्षति भएको सञ्चालक ध्रुव मरासिनीले जानकारी दिए।
प्रहरीका अनुसार, बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले करीब आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका छन् ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।