पोखरा, १८ बैशाख २०८१/
लमजुङमा गोली लागेर भैंसीगोठमा जाँदै गरेका एक जना किसान घाइते भएका छन्। मर्स्याङ्दी गाउँपालिका- ३ जिम्दोस्थित आफ्नो भैसी गोठमा जाँदै गरेका स्थानीय ५३ बर्षिय आईतमान तामाङ आइतबार दिउँसो करिब १ बजे गोली लागेर घाईते भएको प्रहरीले जनाएको छ ।
गोठमा जानेक्रममा सिजे जंगलमा अचानक गोली लागेर तामाङ घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रबक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। घाईते तामाङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी निरीक्षक चपाईले बताए ।
प्रहरीका अनुसार तामाङको बायाँ कान नजिकै टाउकोमा चोट लागेको र अबस्था भने, सामान्य रहेको छ । बन्दुक किन र कसले पड्कायो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।