पोखरा, १७ बैशाख २०८१/
गएराति नवलपरासीमा भारतीय ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक सामान्य घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको भारतीय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई पूर्वपश्चिम राजमार्गमा पर्ने सुनवल- १२ भूमही चोकमा ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। उक्त दुर्घटनामा परेर नवलपरासीको सुनवल नगरपालिका- १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने करिब ३७ वर्षीया कमला घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
टाउको र छातिमा गम्भीर चोट रहेकी उनलाई उपचारार्थ जिल्ला अस्पताल परासी पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्कुटर चालक सोही ठाउँका ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन्। उनको दायाँ खुट्टा, दायाँ हातको कुममा चोट छ। उनको सामुदायिक अस्पताल भूमहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक भारत आजिङगढ घर भएका ३१ वर्षीय श्रवण यादवलाई पक्राउ गरेको छ।