पोखरा, १६ बैशाख २०८१/
अटोरिक्शामा गाँजा आपूर्ति गर्ने बाराका एक दम्पत्ति रौतहटबाट पक्राउ परेका छन्। प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सामा साढे १० किलो गाँजा राखेर रौतहटतिर लैजाँदै गर्दा शनिबार कटहरिया नगरपालिका वडा नम्बर २ बाट बाराका एक दम्पत्ति पक्राउ परेका हुन्।
बाराको निजगढ–१ घर भएका ४२ वर्षीय अनन्त बराइली र उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई शनिबार साढे १० किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कटहरिया–२ मा प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी रौतहटका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको शर्माले बताए।
अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएका प्रहरीले कटहरिया नगरपालिका वडा नम्बर २ मा अटोरिक्शा चेकजांच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीको दाबी छ। त्यति बेला अटो अनन्तले चलाएका थिए भने मञ्जु सोही रिक्सामा सवार थिइन्।