पोखरा, १५ बैशाख २०८१/
डढेलो निभाउने क्रममा शुक्रबार बागलुङमा एक जनाको जलेर मृत्यु भएको छ । घरदेखि करिब एक किलोमिटर पश्चिम जंगलको गोरेटो बाटोमा लागेको डढेलो निभाउने क्रममा बागलुङको तमानखोला गाउँपालिका–२ सिलगुमका ४८ वर्षिय देवसिंह कामीको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
सिलगुमस्थित पाखोबारी तथा जंगलामा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका ३१ वर्षिय ज्ञान बहादुर बुढा मगर र ३३ वर्षिय प्रेम बहादुर घर्ति मगर घाइते भएका छन् ।
उनीहरुको अनुहार, खुट्टा र शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । घाइतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा भईरहेको छ ।
उनका अनुसार, घाइतेको अवस्था मध्यम छ । सोही आगलागीबाट तमानखोला २ सिलगुमकै ५२ वर्षिय राम बहादुर कार्कीको जस्ताले छाएको दुईतले घर र गोठ, ४० वर्षिय सुर्य बहादुर सिर्पालीको दुईतले गोठ जलेर नष्ट भएको छ । आगलागीबाट पशुचौपायामा पनि क्षति पुगेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ३ गुजास्थित खगेन्द्र विकको दुईतले कच्ची घरगोठ, ढाल बहादुर पुनको दुईतले कच्ची र बल बहादुर घर्तिको एकतले गोठ जलेर नष्ट भएका छन् ।