पोखरा, १४ बैशाख २०८१/
दुर्घटना गराएपश्चात घाइतेलाई उपचार गर्न स्वास्थ्य संस्थामा लैजानुको सट्टा उल्टै गाली गरेर भाग्ने एक जना युवा पोखराबाट पकराउ परेका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका वडा १७ बस्ने २१ वर्षीय कुशल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, गएको बैशाख ६ गते दिउसो करीब साढे एक बजेको समयमा अभियुक्त गुरुङले चलाएको ग १२ प ३३९७ नम्बरको स्कुटरले पोखरा ६ लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परेर ग १३ प ४०९ नम्बरको स्कुटरको पछाडी बस्ने पोखरा महानगरपालिका वडा नं.२७ बस्ने बर्ष २६ कि गायत्री थापा घाइते भएकी थिइन्।
दुर्घटना गराए पश्चात घाइते भएकी थापालाई उपचारका लागि अस्पताल लैजानु पर्नेमा अभियुक्त गुरुङले उल्टै घाइते थापालाई गाली गलौज गर्दै भागेको प्रहरीको जिकिर छ। त्यति बेला भागेको भए पनि वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त समुहले अभियुक्त गुरुङलाई करीब एक हप्तापछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटना गराउने स्कुटर र चालक गुरुङलाई पक्राउ गरेर अभद्र ब्यबहार सम्बन्धि मुद्दा दर्ता गराई आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।