धादिङबाट बस चढेर काठमाण्डौ पुगेकी सुस्त मनस्थितिकी युवती वलात्कृत : तीन जना सहचालक पक्राउ

धादिङबाट बस चढेर काठमाण्डौ पुगेकी सुस्त मनस्थितिकी युवती वलात्कृत : तीन जना सहचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ बैशाख २०८१
  • 25.3K
    Shares

पोखरा, ३ बैशाख २०८१/

धादिङबाट बस चढेर काठमान्डौ पुगेकी सुस्त मनस्थिति भएकी २० वर्षीया एक युवती बसका सहचालाकहरुबाट वलात्कृत भएकी छिन्। धादिङबाट ग्रामीण यातायातको बा ५ ख ८४४३ नम्बरको बस चढेर आइतबार काठमाडौं पुगेकी ती युवतीलाई सोहि बसका सहचालक मधु गुरुङले ललाइफ़काइ गरेर काठमाण्डौको माछापोखरीस्थित गंगाजमुना गेष्ट हाउसको कोठा नं.८ लगेपश्चात सामूहिक वलात्कार गरेका हुन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उक्त सामूहिक वलात्कारमा संलग्न रहेको आरोपमा धादिङको ज्वालामुखी गाउँपालिका–४, गैरीगाउँ घर भई सतुंगल बस्ने २९ वर्षीय मधु गुरुङ, धादिङको गजुरी घर भई माछापोखरी बस्ने २२ वर्षीय जयराम बुढाथोकी र सल्यानको दार्मा गाउँपालिका–६, किम्टाकुरा घर भई कीर्तिपुर बस्ने २३ वर्षीय दीपक बुढाथोकीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, काठमाण्डौको माछापोखरी पुगेपछि सहचालक मधु गुरुङले ती सुस्त मनस्थिति भएकी २० वर्षीया ती युवतीलाई ललाईफकाई गरेर गंगाजमुना गेष्ट हाउसको कोठा नं.८ लगेका थिए। त्यसपछि ती युवतीको मोबाइल समेत कब्जामा लिएका सहचालक गुरुङले आफ्ना दुई साथीहरु जयराम बुढाथोकी र दीपक बुढाथोकीलाई बोलाएर सामूहिक वलात्कार गरेको प्रहरीको दाबी छ।

मुख्य आरोपी मधु गुरुङले प्रहरीसँगको बयानमा सबै यात्रु झरिसक्दा पनि ती युवतीलाई बसभित्रै राखेको बताएका छन् । त्यसपछि सहचालक दीपक बुढाथोकी र जयराम बुढाथोकीलाई बसमा बोलाएर कुराकानी गरेको उनले स्वीकार गरेका छन् । ‘त्यसपछि साँझतिर गेष्ट हाउसमा गएका थियौं’, उनले अभियोग स्वीकारेका छन् । यद्यपि, सहमतिमै सम्बन्ध राखेको उनको दाबी छ ।

सहचालक बुढाथोकीद्वयले पनि बयानमा शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । तर, पीडित युवतीले भने उनीहरुले बसबाट झर्न समेत नदिई मिलेमतोमा होटलसम्म लगेको बताएकी छन् ।

‘म सुस्त मनस्थिति भएको फाइदा उठाएर धम्की दिएर मलाई माछापोखरीको गंगाजमुना गेष्ट हाउसको कोठा नं. ८ सम्म लगेका थिए’, उनले प्रहरीसँग भनेकी छन् । त्यसपछि तीनैजनाले जबरजस्ती करणी गरेको उनले बताएकी छन् । जबर्जस्ती करणी गरेपछि कसैलाई बताए ज्यान लिने भन्दै धम्की दिएको उनले प्रहरीसँग बताएकी छन् ।

प्रहरीले तीनै जनाविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार