पोखरा, २९ चैत २०८०/
कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेशस्थित तउरेतीमा भएको मजदुर रामबहादुर तामाङको हत्यामा संलग्न उनकी श्रीमतीसहित चार जना जेल चलान भएका छन्। सिन्धुपाल्चोक जिल्लाको साबिक गुम्दा गा.बि.स. वडा नं. ५ हाल जुगल गाउँपालिका वडा नं. ३ गुम्बा बोल्दे बस्ने मजदुर तामाङको हत्या आरोपमा पक्राउ परेकी उनकी श्रीमतीसहित चार जना कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।
कास्की जिल्ला कारागार चलान हुनेहरुमा उनकै श्रीमती हाल जिल्ला सिन्धुपाल्चोक साँगचोकगढी नगरपालिका वडा नं. ५ चौतारा बजार डेरा गरी बस्ने वर्ष ३५ की च्याङमा लामा तथा पेम्वा भनि चिनिने कान्छी लामा तामाङ र जिल्ला सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नं. १ वस्ने वर्ष ३० को धन बहादुर लामा भन्ने धन लामा रहेका छन्। सोही आरोप्मना पक्राउ परेका दुई जना बालबालिका भएकाकारण बाल सुध्र गृह सराङकोट पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरु समेत मिलेर गएको चैत ३ गते मजदुर रामबहादुर तामाङलाई सिक्लेशस्थित तउरेती नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट अन्दाजी २५ मिटर तल भिर पाखामा ढुंगाले हानेर हत्या गरेको गरी भागेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार कास्की र तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर आबश्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पेश भएको थियो।
प्रहरीको अनुसन्धानका क्रममा मजदुर रामबहादुर तामाङको हत्या गर्न उनकै कान्छी श्रीमती च्याङमा लामा तथा पेम्वा लामा भन्ने कान्छी लामाले प्रेमी प्रेमी धन लामालाई ९० हजार रुपियाँ जनै सुपारीका रुपमा दिएको खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, घरबाट सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर हिँडेका रामबहादुर फागुन ३० गते काठमाडौं आएका थिए। काठमाडौंबाट उनी साथीहरूसँगै कास्कीको सिक्लेसस्थित हाइड्रोपावर कम्पनीमा काम गर्न बाटो लागेका थिए। तर उनको शव चैत ३ गते सिक्लेस जंगलमा फेला परेको थियो। उनको टाउकोमा गम्भीर चोट देखिएको छ।
चैत १ गते बाटोमा उनीहरू चारै जनाले रक्सी खाएका थिए। बाटोमा रामबहादुरले आफूलाई तथानाम गाली गरेको र त्यसपछि पछाडीबाट ढुंगाले टाउकोमा हानेको धन लामाले प्रहरीलाई बताएका छन्। त्यसपछि मुक्का प्रहार गरेको र चल्न चटपटाउन छाडेपछि घिसार्दै बाटोभन्दा तल लगेर खोल्सामा फालेको उनले बताएका छन्। रामबहादुरको साथमा भएको दुई हजार रकम लिई अन्य सामान झाडीमा फालेका थिए।
त्यसपछि धन लामाले फोन गरेर कान्छी लामा तामाङलाई जानकारी गराएका थिए। उनले फोनमा घटनाबारे अन्य दुई जनाले पनि देखेको र उनीहरूको मुख टाल्नका लागि पैसा माग गरेका थिए। उनले पठाएको इ सेवामा कान्छी लामाले ९० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन्।
धन लामाले काठमाडौं आएपछि उक्त रकम निकालेर छे दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार रुपैयाँ दिएका थिए। बाँकी ५० हजार रुपैयाँ आफैंसँग राखेका थिए।
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानसम्बन्धिी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।