पोखरा, ११ माघ २०८० /
अर्काको नाउँमा सवारी लाइसेन्सका लागि ट्रायल दिँदै गरेका एक युवा पक्राउ परेका छन्। तनहुँको भानु नगरपालिका ४ का सुरेश थापा मगरको मोटरसाइकल लाइसेन्सका लागि ट्रायल दिँदै गरेका सोही ठाउँका पूर्ण थापा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।
सुरेश थापा मगरको नाममा सहीछापसमेत किर्ते गरी प्रयोगात्मक परीक्षा(ट्रायल) मा सहभागी भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक शिव थापाले जानकारी दिए। अभियुक्त थापा मगरबिरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
इप्रका आँबुखैरेनीमा राखेर अनुसन्धान भइरहेको छ।’
लाइसेन्सका लागि यातयात व्यवस्था कार्यालय, बन्दिपुर गाउँपालिका-४ विमलनगरमा ट्रायल परीक्षा भएको थियो।