पोखरा , १५ कार्तिक २०८३।
जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका कैदी मुस्ताङबाट पक्राउ परेका छन्।
२०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका बलात्कारी ४८ वर्षीय नारायण घिमिरे १४ महिनापछि पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार घिमिरेलाई मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ चैलेस्थित एक होटलमा काम गरिरहेको अवस्थामा पक्राउ गरी शुक्रबार पोखरा ल्याइएको हो। उनलाई शनिबार कानुनी प्रक्रिया पूरा गरी पुनः कास्की कारागार बुझाइएको छ।
लमजुङमा आफैले संचालन गरेको होटलमा काम गरेकी १६ वर्षिया युवतीमाथि बलात्कार गरेको अभियोगमा २०७९ जेठ १९गते थुनामा परेका घिमिरेलाई २०८० असार ४ मा लमजुङ जिल्ला अदालतले ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो। २०८२ साउनमा अविरल वर्षाले लमजुङ कारागार भत्किएपछि उनलाई कास्की ल्याइएको थियो।
२०८२ भदौ २४ गते कास्की कारागार अशान्त बनेपछि भागेका घिमिरे पहिले पोखरा लेकसाइडमा लुके, भोलिपल्ट स्याङ्जा-रूपन्देही हुँदै बेलहिया नाकाबाट भारत छिरे। भारतमा मुम्बईको ‘ग्रिन चिली रेस्टुरेन्ट’मा २७ दिन काम गरी सोमनाथ मन्दिरको दर्शनपछि दिल्लीको ‘येलो बल रेस्टुरेन्ट’मा पहिचान लुकाएर बसे।
त्यही क्रममा चिनजान भएका स्याङ्जाका बिमल नेपालीलाई मुस्ताङमा कामको प्रस्ताव आएपछि उनी नजाने भएपछि घिमिरे आफैँ मुस्ताङ जाने योजना बनाए। २०८२ पुसमा नेपाल-भारत मैत्री बसबाट बुटवल हुँदै पोखरा आएर उनी सिधै मुस्ताङ पुगे।
मुस्ताङको चैलेस्थित प्रमिसा होटलमा नौ महिना र त्यसपछि लिवन रेस्टुरेन्टमा काम गर्दै आएका उनले आफू सुरक्षित भएको ठानेका थिए। तर प्रदेश प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भयो।
जेनजी आन्दोलनका क्रममा देशभरका २८ कारागार र ९ बाल सुधारगृह गरी ३७ केन्द्रबाट कैदीबन्दी फरार भएका थिए। नख्खुबाट मात्र १ हजार २८० र कास्कीबाट ७५३ जना भागेका थिए। कास्कीबाट भागेका मध्ये अझै ११ विदेशीसहित ११० जना फरार छन्।