पोखरा, ८ माघ २०८० /
नक्कली डाक्टरको आरोपमा प्रहरीले पक्राउ गरेका सम्बुद्ध भट्टाचार्य नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको पाइएको छ। उनले प्रयोग गरेको त्रिवि शिक्षण अस्पतालको परिचयपत्र समेत नक्कली रहेको पाइएको छ ।
नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा.अनिलविक्रम कार्कीले भट्टाचार्य डाक्टर नभएको र उनले प्रयोग गरेको काउन्सिल, चिकित्सक संघ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजात समेत नक्कली रहेको जानकारी दिए । भट्टाचार्यले काउन्सिलको लाइसेन्सस नम्बर ९६७० रहेको दाबी गर्दै उपचार गरेका थिए।
उनीबाट नेपाल मेडिकल काउन्सिलको नक्कली रजिष्ट्रर कार्ड, त्रिवि शिक्षण अस्पतालको आईडी कार्ड समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका भट्टचार्यले आफूले चीनबाट एमबीबीएस उत्तिर्ण गरेको दाबी गरेका छन्। तर अहिलेसम्म उनले उक्त कुरा पुष्टि हुने कुनै डकुमेन्ट देखाउन सकेका छैनन्।
काउन्सिलका सदस्य डा.कालुसिंह खत्रीले भट्टाचार्यको काउन्सिलमा दर्ता नभएको जानकारी दिए । भट्टाचार्यले मानिसहरुलाई विश्वास दिलाउन मात्र त्रिवि शिक्षण अस्पतालको डाक्टरको परिचयपत्र बनाएका हुन् । उनी त्रिवि शिक्षण अस्पतालमा पनि कार्यरत होइनन्। शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले डा.भट्टाचार्य शिक्षण अस्पतालमा कार्यरत नरहेको बताए।
उनी विगत ३ वर्षदेखी काठमाडौं उपत्यकाको विभिन्न पोलिक्लिनिकहरुमा आफूले चीनबाट एमबीबीएस गरी टिचिङ अस्पतालमा काम गर्ने भनि प्रचार गरेको पाइएको छ ।
नेपाल मेडिकल काउन्सिलको नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको कार्ड समेत नक्कली बनाई देखाई पोलिक्लिनिकहरुलाई भ्रममा पारी बिरामीहरुको उपचार गरि रहेका छन् भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलिले निज व्यक्तिको निगरानी राखी खोजतलास गर्दै जाँदा माघ ७ गते साँझ ४ बजे नियन्त्रणमा लिएको हो ।
उनले पछिल्लो महिनादेखि नक्सालमा वी केयर पोलिक्लिनिकमा छ सय ३० जना बिरामीको जाँच तथा उपचार गराएको बताएका छन्। धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको उपचार गराएको उनले बताएका छन्। उनले आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्ट बताउँदै आएका थिए।