पूर्वी नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेका बेला नेपाल आयल निगमले उपलब्ध गराउँदै आएको डिजेल र पेट्रोल सुनसरीबाट भारततर्फ तस्करी हुने गरेको छ। सुनसरीको देवानगन्ज स्थापना गरिएका दुईवाट पेट्रोल पम्पबाट रातारात डिजेल र पेट्रोल भारततर्फ तस्करी हुने गरेको हो।
नेपाल आयाल निगम क्षेत्रीय कार्यालय विराटनगरले देवानगन्ज गाविसका भगत आयल सेन्टर र गुप्ता आयल सेन्टरलाई उपलब्ध गराएको हजाराैं लिटर डिजेल र पेट्रोल रातारात भारततर्फ तस्करी हुने गरेको स्थानीयवासिन्दाले बताएका छन्। सुनसरीका मुख्य बजारहरुमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेका बेला पेट्रोल पम्प सञ्चालकहरुले नेपाली उपभोक्ताहरुलाई डिजेल र पेट्रोल वितरण नगरी भारततर्फ तस्करी गर्ने गरेको देवानगन्जका जगनारायण मेहताले बताए। उनले पेट्रोल पम्प सञ्चालकले नेपाली उपभोक्ताहरुलाई डिजेल र पेट्रोल वितरण नगरी भारतीय तस्करहरुसंग मिलेर पेट्रोलियम पदार्थको तस्करी गर्ने गरेको आरोप लगाए।
देवानगन्ज गाविसमा सञ्चालित गुप्ता आयल सेन्टरका सञ्चालक अशोक कुमार भगत र भगत आयल सेण्टरका दिपनारायण भगतले भारतीय तस्करहरुसंग मिलेमतो गरी डिजेल र पेट्रोलको कालोबजारी गरी भारततर्फ तस्करी गर्ने गरेको अर्का स्थानीय मजिपुर रहमान अन्सारीले बताए। उनले पेट्रोल पम्प सञ्चालकहरुले नेपाली उपभोक्तालाई डिजेल र पेट्रोल वितरण नगरेका कारण सुनसरीको दक्षिणी क्षेत्रमा यातायातका साधन सञ्चालनमा गम्भीर समस्या आउनुका साथै सिंचाई सुविधा सञ्चालनमा समेत असर पुगेको बताए।
पेट्रोल पम्प संचालकहरुले सर्वसाधारणहरुलाई डिजेल र पेट्रोल नदिएपछि आक्रोशित बनेका स्थानीयवासिन्दाले डिजेल र पेट्रोलको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी घेराउ गरेका छन्। स्थानीय वासिन्दाहरुले डिजेल र पेट्रोल कालोबजारी गरी भराततर्फ तस्करी गर्ने पेट्रोल पम्प सञ्चालकहरुलाई कडा कारवाही र सर्वसाधारणलाई सहज रुपमा डिजेल र पेट्रोल उपलब्ध गराउनु पर्ने माग राखेर जिल्ला प्रशासन घेराउ गरिएको स्थानियवासी मेहताले बताए। उनका अनुसार भारतीय बजारमा भन्दा नेपाली बजारमा डिजेल र पेट्रोलको मुख्य कम भएका कारण पेट्रेल पम्प सञ्चालकहरुले कालोवजारी गरी भारततर्फ तस्करी गर्ने गरेको स्थानीयको आरोप छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले देवानगन्जका दुइवटा पेट्रोल पम्पहरुले कालोवजारी गरी डिजेल र पेट्रोल भारततर्फ तस्करी गरिएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको र छानविन समितिको प्रतिबेदन अनुसार दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउने बताए।