पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म

पनामा पेपर्समा उपेन्द्र महतोदेखि अरूण चौधरीसम्म


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ बैशाख २०७३
  • 10.4K
    Shares

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सोमबार मध्यराति पनामा पेपर्सका थप दुई लाख कागज सार्वजनिक गरेको छ । सोमबार राति सर्वसाधरणले खोज्न मिल्नेगरी सार्वजनिक गरिएको कागजातको सूचीमा सातजना नेपाली पनि परेका छन् ।  पनामा पेपर्समा सार्वजनिक गरिएका सूचीमा अफसोर कारोबार गर्ने नेपाली व्यापारीहरु र कम्पनीसमेत परेका छन् ।
आईसीआईजेले दोस्रो पटक सार्वजनिक गरेको कागजतामा नेपालबाट एनआरनका पूर्वअध्यक्ष उपेन्द्र महतो र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर अरुणकुमार चौधरीको नाम परेको छ । तर यो सूचीमा नेपालका एकमात्र खर्बपति विनोद चौधरीको नाम भने परेको छैन ।
पनामा पेपर्समा पर्ने अन्य चौधरीहरुमा सुभासकुमार चौधरी, करणकुमार चौधरी र शिला चौधरी रहेका छन् । पनामा पेपर्समा उमादेवी सिंहानिया र नवयुग डोल्माको नाम पनि भेटिएको छ । आईसीआईजे सार्वजनिक गरेको सूचीमा परेका नेपाल धनाढ्य उपेन्द्र महतोले लामो समयदेखि अफसोर कम्पनीहरुमार्फत लगानी गर्दै आएका थिए । नेपालको पहिलो निजी मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलमा पनि लगानी गरेका महतोले त्यहाँको सेयर विक्री गरेका थिए ।
अफसोर कम्पनीमार्फत विभिन्न कम्पनीमा लगानी गरेका महतोको नाम पनामा पेपर्समा आउने चर्चा थियो । स्रोतका अनुसार महतोले अफसोर कम्पनीमार्फत नै धापासीस्थित ग्रान्डी अस्पतालमा पनि लगानी गरेका थिए ।
त्यसैगरी नेपालका एकमात्र खर्बपति विनोद चौधरीको चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर अरुणकुमार चौधरीको नाम पनि पनामा पेपर्समा परेको छ। अरुणकुमार, शीला, करणकुमार र सुर्वशकुमार उर्साइन लिमिटेडका सेयरहोल्डरहरू हुन्।

नेपालमा चर्चामै नरहेका अन्य दुईजनाको नाम पनि पनामा पेपर्समा भेटिएको छ । नवाङ डोल्मा र उमादेवी सिंहानिया नेपालमा चर्चामा नरहेका नाम हुन् । उनीहरुमध्ये नवाङको नाम ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता दुई कम्पनीबाट जोडिएको हो । त्यसैगरी उमादेवी सिंहानियाको नाम पनि ब्रिटिस भर्जिन आइल्यान्डसबाटै पनामा पेपर्समा जोडिएको छ।
पनामा पेपर्सको सूचीमा रहेका अर्का व्यक्ति सतीशलाल श्रेष्ठको नाम पनि भेटिएको छ। पछिल्लो खरिदबिक्रीमा एनसेलका स्थानीय साझेदारको २० प्रतिशत सेयर किनेकी भावना सिंह श्रेष्ठका पति सतीश अफसोर लिक्समा सिंगापुरबाट जोडिएका हुन् ।

प्रतिक्रिया