एशियाली पारा खेलकुदमा पलेशाले जितिन् ऐतिहासिक पदक

एशियाली पारा खेलकुदमा पलेशाले जितिन् ऐतिहासिक पदक


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ कार्तिक २०८०
  • 3.7K
    Shares

चौथो एशियाली पारा खेलकुदमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक जितेकी छन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के-४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् ।

पलेशाले एशियाली पारा खेलकुदमा जितेको उक्त कांस्य पदक नेपालकै लागि अहिलेसम्म पहिलो र एकमात्र पदक हो । चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनल खेलमा पलेशाले चीनकी लितिङ याङलाई १४-१ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

सेमिफाइनलमा भने पलेशा कजाकिस्तानकी कामिल्या दास्मोलोभासँग १६-१० अङ्कले चुकिन् । सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाई पाएपछि कांंस्य पदक निश्चित भएको जानकारी पलेशाका प्रशिक्षक कविराज नेगी लामाले दिए ।

पलेशाको स्पर्धामा नेपालसहित चीन, कजाकिस्तान र ईरान गरी चार राष्ट्रका पाँचजना खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोस्रो कांस्य पदक भिडन्त चीनका लितिङ र युजी लिबिच भएको थियो । त्यसमा युजी लिले ८-१ अङ्कले बाजी मारिन् ।

युजी लि तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक-२०२२ को कांस्य पदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले कजाकिस्तानकी कमिल्यालाई ३४-१५ अङ्कले पाखा लगाउँदै स्वर्ण चुमिन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा सन् २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौँ भएकी थिइन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २८ बागबजार निवासी पलेशाले सन् २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा सन् २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र सन् २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।

सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । स्कुलमा अध्ययन गर्दा बेला विभिन्न नौवटा अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धिका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छन् ।

पदक विजेता पलेशाले पदक जितेकोमा खुसी लागे पनि अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने प्रतिक्रिया दिइन् । उनले दसैँको बेला आफूले जितेको ऐतिहासिक पदक राष्ट्रका लागि समर्पण गर्न चाहेको पनि बताइन् ।

‘पदक जितेकोमा खुसी छु । तर, योभन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ । यहाँ (सांघाई) मा पनि आएको धेरै भाको छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अली सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो,’ दुई महिनाअघि मात्र सांघाइ पुगेकी पलेशाले भनिन् ।

प्रतिक्रिया