यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ कार्तिक २०८०
  • 3.9K
    Shares

यूएईलाई हराउँदै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा मंगलवार भएको खेलमा नेपालले यूएईमाथि १९ रनको जीत हासिल गरेको हो ।

डकवर्थ लुइस पद्धतिका आधारमा एकसय ९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमै सबै विकेट गुमाएर एकसय ७८ रनमात्रै बनाए पछि नेपालले १९ रनको जीत हात पारेको हो ।

नेपालले पूरै ओभर खेल्दै यूएईलाई दुइसय ८१ रनको लक्ष्य दिएको थियो । तर, वर्षाका कारण खेल प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको हाे ।

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले अर्धशतकसहित सर्वाधिक ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिनकिरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालका बलर आकाश त्रिपाठीले ४, सुवास भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर दुइसय ८० रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए । ९२ बल खेलेका उनले ९ चौका ३ छक्का प्रहार गरे । यस्तै उत्तम थापामगरले ५७ र अर्जुन कुमालले ५५ रन बनाए । दीपक डुम्रेले २८ रन बनाए । यूएईका हरित शेट्टीले ५ विकेट लिए ।

नेपालले समूह चरणका तीन वटै खेलमा जीत हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ रनले पराजित गरेको थियो ।

वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १४३ रनको फराकिलो जीत निकालेको थियो । सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसकेका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ छन् । एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ ।

प्रतिक्रिया