पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड गर्ने तथा चिकित्सकमाथि कुटपिट गर्ने दुई जना जेल चलान भएका छन्। लमजुङ सुन्दरबजार नगरपालिका -६ निवासी ५७ वर्षीया सुक माया दुराको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुट्ने दुई जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
जेल चलान हुनेमा पोखरा महानगरपालिका -१७ हनुमान टोल बस्ने छावा भनिने शुशिल कार्की र पोखरा -५ मालेपाटन बस्ने विनय गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकका अनुसार उक्त घटनामा संलग्न रहेका सात जना भने एक लाख धरौटीमा तारेखमा रिहा भएका छन्।
पोखरा -४ का सुजित मुल्मी, पोखरा -५ मालेपाटनका अभिनास गुरुङ, पोखरा -५ का अरूण गुरुङ, पोखरा -९ का नितेश गुरुङ, पोखरा -९ नागढुंगाका विवेक गुरुङ, पोखरा -२० भलामका मनिष थापा र पोखरा -११ फूलबारीका प्रदिप गुरुङ धरौटी रकम बुझाएर तारेखमा रिहा भएका हुन्।
कुटपिट तथा अस्पताल तोडफोडमा संग्लग्न ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाई सरकारी वकिल मार्फत जिल्ला अदालत कास्कीमा मुद्धा पेश गरेको थियो।
गत असोज ७ गते सुक मायाँ दुरा श्वाश प्रश्वास तथा ढाड दुख्ने समस्याका कारण पोखरा – ११ फुलबारी स्थित मणिपाल शिक्षण भर्ना भएकोमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो। दुराको मृत्यु पश्चात आफन्तहरूले गरेको विरोधमा सुनियोजित रुपमा घुसपैठ भएको भन्दै कास्की प्रहरीले अनुसन्धान थालेको थियो ।
उक्त घटनाका पहिचान खुलेका १० जना र पहिचान नखुलेका केही व्यक्ति फरार रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ।