१९ वर्ष अघि हजुरआमाको हत्या गरेको आरोपमा नवलपरासीको बर्दघाटस्थित शिव मन्दिरका पुजारी पक्राउ

१९ वर्ष अघि हजुरआमाको हत्या गरेको आरोपमा नवलपरासीको बर्दघाटस्थित शिव मन्दिरका पुजारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ असोज २०८०
  • 1.7K
    Shares

नवलपरासीको बर्दघाटस्थित शिव मन्दिरका पुजारी तोयानाथ चापागाईं

नवलपरासी जिल्लाको वर्दघाट नगरपालिका ४ बाढीपिडित स्थित शिव मन्दिरका पुजारी तोयानाथ चापागाईलाई प्रहरीले पक्राउ गरेको छ। १९ वर्ष अघि २०६१ साल मंसीर ४ गते चितवनको भरतपुर ७ निवासी नाताले हजुरआमा पर्ने मन कुमारी वाग्लेको हत्या गरेको आरोपमा प्रहरीले पुजारी चापागाईंलाइ पक्राउ गरेको हो।

तत्कालिन अवस्थामा साबिक मेघौली गा.वि.स वडा नं.०३ हाल भरतपुर महानगरपालिका वडा नं. २८ बस्ने तत्काल वर्ष २४ हाल वर्ष ४३ को कृष्ण भन्ने तोयानाथ चापागाईले त्यस दिन हजुरआमा पर्ने मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेर फरार भएको चितवन प्रहरीले जानकारी दिएको छ । हत्या पश्चात चापागाईले हजुरआमाको कानमा लगाएको गरगहना समेत लुटी भाग्न सफल भएका थिए ।

चितवन प्रहरीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीहरुको टोलीले फरार चापागाईलाई नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर बसेको अवस्थामा फेला पारेका थिए ।

उनलाई साधुको भेषमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको चितवन प्रहरीले जानकारी दिएको हो । पक्राउ परेका चपागाईका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार