उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले अभिनेता अनमोल केसीलाई पक्राउ गरेको छ। आपराधिक विश्वासघात गरेको आरोपमा भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको हो।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका एसपी रवीन्द्र रेग्मीले बताए । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए ।
केसीविरुद्ध जाहेरी परेपछि छलफलका लागि बोलाउँदा समेत नआए पछि उनलाई पक्राउ गर्न परेको एसएसपी राठौरले जानाकारी दिए।
केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।