जिल्ला अदालत लमजुङले आफ्नै विद्यार्थी बलात्कारको कसूरमा दोषी ठहर गर्दै एक शिक्षकलाई कैद सजाय फैसला गरेको छ ।
आफ्नै बिद्यालयमा पढ्ने बालिकालाई वलात्कार गर्ने लमजुङका एक शिक्षकलाई १२ वर्ष जेल सजायं भएको छ। लमजुङको राइनास नपा-९ स्थित भैरव माविका शिक्षक प्रकाश थापालाई आफ्नै बिद्यालयमा पढ्ने १५ वर्षीया बालिका वलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै लमजुङ जिल्ला अदालतले १२ वर्ष जेल सजायं दिएको हो।
जिल्ला अदालतका न्यायाधीश शिव खनालको इजलासले आरोपित शिक्षक थापालाई बलात्कारको कसूरमा भदौ १२ गते मंगलबार दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका तहसिलदार विश्वराज कुइँकेलले जानकारी दिए । साथै थापाबाट पीडित बालिकालाई दुई लाख ५० हजार रुपैँया क्षतिपूर्ति भराउन समेत फैसला भएको तहसिलदार कुइँकेलले बताए।
शिक्षक प्रकाश थापालाइ अदालतले ०७९ असोज ७ गते बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलत्कार गरेको भन्दै पीडित छात्राले ०७९ भदौ १ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी लगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए । शिक्षक प्रकाश थापालाइ भने ०७९ भदौ १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
न्यायाधीश खनालको सोहि दिनको इजलासले अर्का आरोपित अर्जुन विक्रम थापालाई समेत बलात्कारको कसुरमा दोषी ठहर गर्दै उनलाई पनि १२ बर्ष कैद सजायको फैसला गरेको र सोहि अनुरुप क्षतिपूर्ति माग गरिएको तहसिलदार कुइँकेलले जानकारी दिए ।
प्रहरीका अनुसार यो मुद्दामा पीडित किशोरी एकै भए पनि घटना अलग हो । घटना अलग-अलग भएकाले अभियुक्तहरूलाई छुट्टा–छुट्टै मुद्दा चलाइएको जनाइएको छ ।