सुर्खेत आफन्तकोमा आएकी दैलेखकी एक १५ वर्षीया किशोरीलाई वलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट एक जना अटोचालकलाई पक्राउ गरेको छ। दैलेखको दैलेख महाबु गाउँपालिकाबाट सुर्खेतको वीरेन्द्रनगरमा रहेको फुपूको घरमा जान हिँडेकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले अछामको पञ्चदेवल विनायक नगरपालिका –३ घर भएका अटोचालक सुरेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो।
अभियुक्त शाहीले सुर्खेतका बारे राम्रो जानकारी नभएकी ती किशोरीलाई फुपुकोमा लगिदिने प्रलोभन देखाएर आफ्नो भे १ ह २३०९ नम्बरको अटोमा राखी दुई घण्टासम्म घुमाएर राती ९ बजे घर फेला नपरेको भन्दै वीरेन्द्रनगरको यरो थकाली होटलमा पुर्याएको प्रहरीले बताएको छ। आफू गुण्डा समेत रहेको बताउदै कसैलाई भनेमा मारिदिने सम्मको धम्की दिएर अभियुक्त शाहीले ती किशोरीलाई दुई दिनसम्म होटलको कोठामा बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ।
चालक शाहीले आफूसँगै किशोरीलाई जबर्जस्ती मदिरा खुवाएको पनि प्रहरीको अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार होटलमा इन्ट्री गरेको किताबमा नाम सुरेन्द्र थापा, ठेगाना गोर्खा लेखिएको छ । किशोरीलाई कोठामा लगेर ‘गुण्डा हो म, मैले भनेको मानिनस् भने तेरो ज्यान जान्छ’ भनेर धम्की दिँदै पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
डीएसपी शाहीले भने, ‘बलात्कार आरोपीले किशोरीलाई दुई दिनसम्म कोठामा राखेर बलात्कार गरेपछि होटलको एक गल्लीमा लगेर छोडिदिएको रहेछ ।’
हिँडडुल गर्न नसक्ने भएपछि किशोरीले गल्ली छिचोल्दै एक चोकमा गाउँकै एक जना दिदीलाई फेला पारेकी थिइन् । १० दिनसम्म दिदीको घरमा बस्दै गएपछि उनको श्वास्थ्य अवस्था बिग्रँदै गएको देखेर दिदीले किशोरीका बुबालाई खबर गरेर सुर्खेत बोलाएकी थिइन् । ‘बुबाले प्रहरी कार्यालयमा पुगेर छोरीलाई फकाउँदै घटनाबारे सोधपुछ गरेपछि हामीले खोजी कार्य सुरु गरेका हौं,’ डीएसपी शाहीले भने, ‘आरोपितको नाम र ठेगाना सही थिएन । किशोरीले भने अनुसार उसको हातमा भएको ट्याटुका आधारमा १३ गते पक्राउ गरेका हौं ।’
बलात्कार आरोपित शाहीले कसुर स्वीकार गरेपछि उनीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको जनाएको छ ।