महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले मलेसियालाई हरायो

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले मलेसियालाई हरायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.7K
    Shares

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ।

क्लालाम्पुरस्थित बायमास ओभलमा घरेलु टोली मलेसियालाई नेपालले ५ रनले पराजित गरेको हो। ८५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो।

मलेसियाका लागि कप्तान जुलिया वान रोस्लीले सर्वाधिक २८ रनको योगदान गरिन्। त्यस्तै एइना हमिजाले १४ रन बनाइन्। नेपालका कविता कुँवर र कविता जोशीले समान २-२ विकेट लिए। रुविना क्षेत्री र अस्मिना कर्मचार्यले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले सर्वाधिक ३८ रन बनाइन्। उनले ५४ बलको सामना गर्दै एक चौकाको मद्दतमा नटआउट रहिन्। कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउँदा अप्सरी बेगमको नाममा १७ रनको योगना रह्यो।

नेपालले २४ रन बनाउँदा ५ विकेट गुमाएको थियो। छैठौं विकेटका लागि सिता र रुबिनाले ५१ रनको साझेदारी गर्दै नेपाललाई मध्यम अवस्थामा पुर्‍याए। नेपालको ७५ रन हुँदा कप्तान रुबिनालाई गुमायो। नेपालका ३ खेलाडी शून्यमा आउट भए।

मलेसियाकी अइना हमिजले २ तथा इजाती इस्माली र निक नुरले समान १-१ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग खेल्ने छ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउनेछन्।

प्रतिक्रिया