चार वर्षपछि पहिलो पटक कास्की प्रहरीले ठुलो मात्रामा लागू औषध अफिम सहित तीन जनालाई पक्राउ गरेको छ। दिएको जानकारी अनुसार, पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ बस्ने ४१ वर्षीय दिपेश पुन, सोही गाउँपालिका १ का ४० वर्षका विराज पुन र बाग्लुङको निसीखोला गाउँपालिका ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनलाई अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए।
डिएसपी विकका अनुसार, उनीहरुमध्ये दिपेसलाई पोखरा २५ हेमजाबाट तथा तेजेन्द्र र विराजलाई पोखरा ५ लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट पांच किलो सात सय ग्राम अफिमसहित तीन थान मोबाइल बरामद गरिएको बताइएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, डाइजोपाम, फेनेरागज, नुर्फिन र नाइट्रोभ्याटसहित कास्कीको माछापुच्छ«े गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यु ठकुरी शनिबार घाचोकबाट पक्राउ परेका हुन् । सोही प्रकारको लागुऔषधसहित पोखरा २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई पनि आइतबार नै पक्राउ गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।
उनीहरूको साथबाट नुर्फिन ३८७, फेनेरागन ३८५, डाइजोपाम ३८३ र नाइट्रोभ्याट ट्याब्लेट २०५ चक्की फेला परेको उनले बताए । साथै मोबाइल २ सेट र ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडी बरामद गरिएको छ । उनीहरूलाई २० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०८ न्यूरोड स्थित सडकको पूर्व किनारामा ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडीमा निज र आशिक पौडेललाई फेला पारी निजहरूको शरीर तथा गाडी र झोला समेत खानतलासी लिने क्रममा निजहरूले गाडी भित्र
झोलामा लुकाई राखेको अवस्थामा उक्त परिमाणको लागू औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।