नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
यसैबीच प्राप्त जानकारी अनुसार, देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ ।