पोखरा महानगरपालिका वडा नम्बर ८ सृजना चोक स्थित रोशन खाना घरकी संचालिका ६० वर्षीया पार्वती काराखेतीबिरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मानव वेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेको छ। उनलाई वडा प्रहरी कार्यालय बैदामाले आफ्नो खाजा घरमा तीन जना नाबालिका र एक जना महिलालाई कामदारको रुपमा राखेर यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरेको थियो।
प्रहरीले अभियुक्त काराखेतीबिरुद्ध जिल्ला अदालत कास्कीमा मानव वेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गराई आबश्यक अनुसन्धानका लागि पहिलो पटकका लागि पांच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गोरखा पालुङटार स्थायी घर भएकी अभियुक्त काराखेतीले आफ्नो होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्ने लगायतका प्रलोभनमा पारी बोलाएको र निजहरुलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको प्रहरीको दाबी छ।
वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले शुभ अवसर ग्राम नामक संस्थाको सहयोगमा उक्त खाजा घरबाट दुई नाबालिकासहित तीन महिललाई उद्धार गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद प्रसाद जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा नाबालिका तथा किशोरीहरुलाई कामदारको रुपमा राखी इच्छाबिपरीत यौन कार्यमा लगाएको पाइएको जोशीले बताए ।