अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरु धरौटीमा छुटेका छन्। जिल्ला अदालत, काठमाडौंले तोकेको पांच हजार रुपियाँ धरौटी राखेर उनीहरु २७ दिनपछि हिरासतमुक्त भएका हुन्।
अदालतले तोकेको पांच हजार रुपियाँ धरौटी राखेर छुटेका कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
प्रहरीले उनीहरुलाई गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणको आरोप लगाउँदै ८ जना कलाकारसहित १० जनालाई पक्राउ गरेको थियो । त्यस्तै, एकजना अझै फरार छन् । सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। अदालतले आठजना कलाकारहरुलाई जनही ५ हजार र दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई ५ लाख धरौटी माग गरेको थियो ।