टिकटकमा साथी बनाउने र घरसम्म आउने सँगै मिलेर टिकटक बनाउने एक महिलाले सुनको गरगहना चोरि गरेको भेटिएको छ । गत जेठ १ गते वालिङ नगरपालिका वडा नं. ६ एक्ले पिपलस्थित एक महिलालाई सामाजिक संञ्जाल टिकटकमार्फत साथी बनाई निजको घरमा गएर बस्ने गर्दै गर्दा सोही महिलाकै घरबाट सुनका गहना चोरी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २४ की कुसुम वि.सी. रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार विसिले वालिङ ६ एक्लेपिपलकी महिलाको आधी तोला बराबरको बेरुवा औठी थान–१ र अंदाजी १ तोला बराबरको करुवा लकेट सहितको सिक्री थान–१ चोरी गरी पोखरास्थिन सुन पसालमा बिक्रि गरेको भेटिएको हो ।
विसिले गत केहि वर्ष अगाडीदेखि सामाजिक संजाल टिकटकमार्फत सुनका गरगहना लगाएका अपरिचित मानिसहरुलाई साथी बनाउने, गरगहना लगाएका व्यक्तिहरुको भिडियोमा लाईक तथा कमेन्ट गर्ने, कुराकानी गरी निजहरुको घरमा गएर बस्ने, सोहि व्यक्तिसंगै टिकटक बनाई निजहरुले लगाएको गरगहनाहरु राखेको ताला चाबी के कहाँ राखेका छन् भनी गोप्य रुपमा बुझेर घरमा कोही नभएको बेला चोरी गर्ने र बिक्रि गर्ने गर्दै आएको प्रहरीले जनाएको छ ।
विसिलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।