संखुवासभाबाट भागेर काठमाण्डौ आएकी १५ वर्षीया किशोरी नेपाल प्रहरीमा कार्यरत कर्मचारीसहित तीन जनाद्वारा वलात्कृत

संखुवासभाबाट भागेर काठमाण्डौ आएकी १५ वर्षीया किशोरी नेपाल प्रहरीमा कार्यरत कर्मचारीसहित तीन जनाद्वारा वलात्कृत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असार २०८०
  • 2K
    Shares

सामूहिक वलात्कार

संखुवासभा घरबाट भागेर काठमाण्डौ आएकी १५ वर्षीया एक किशोरी सामूहिक वलात्कृत भएकी छिन्। संखुवासभाबाट २०७९ साल माघ १५ गते भागेर काठमाण्डौ आएकी ती किशोरीलाई नै शरण दिएका नेपाल प्रहरीमा कार्यरत कर्मचारीको सहित तीन जनाद्वारा वलात्कृत भएकी हुन्।

किशोरी सामूहिक वलात्कारको आरोपमा नेपाल प्रहरीमा कार्यरत संखुवासभाका २६ वर्षीय अजय लिम्बु लगायत रसुवाका ३७ वर्षीय रामचन्द्र तामाङ र ३६ वर्षीय मिङ्गमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार संखुवासभास्थित घरबाट भागेर काठमाण्डौ आएकी ती किशोरी शुरुका ३-४ दिन ललितपुरको सातदोबाटोस्थित एक जना आफन्त कहाँ बसेकी थिइन् । त्यसपछि नेपाल प्रहरीमा कार्यरत गाउँकै चिनजानको दाइ अजय लिम्बुको बानेश्वरस्थित डेरा कोठामा बस्दै आएकी थिइन्।
सोहि क्रममा उक्त डेराकोठामा आउजाउ गर्ने आशिष राईसंग चिनजान भए पछि राइले काम खोजिदिने प्रलोभन देखाएर तारकेश्वर नगरपालिका–५ स्थित आफ्नो डेराठामा लगेको बताइएको छ।

पिडित किशोरीले प्रहरीसमक्ष दिएको बयानमा नेपाल प्रहरीमा कार्यरत अजय लिम्बु पनि बेलाबेला राईको कोठामा जाने गरेको र सोही क्रममा फागुन ४ गते मध्यराति १२ बजेतिर लिम्बु अचानक कोठामा आई ढोका खोल्न लगाएर काम खोजिदिएको भन्दै प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको खुलाएकी छिन्।

‘राईकै कोठामा बसेको अवस्थामा १० फागुनमा आशिषले पनि आएर म तिमीलाई धेरै माया गर्छु, राम्रो काम समेत लगाइदिन्छु भनेर जबरजस्तीकरणी गर्नुभयो’, पीडितले भनेकी छन् ।

त्यतिबेला उनको नजिकै डेरा गरी बस्ने मिरा तामाङसँग चिनजान भयो । उनले ‘काठमाडौंमा तिम्रो कोही रहेनछ’ भन्दै आफ्नो घरमा काम गर्दै बस्न अफर गरिन् ।

‘पछि राम्रो ठाउँमा काम खोजिदिन्छु भनेपछि मैले पनि हुन्छ भनेको थिएँ, चैत महिनापछि उहाँको कोठामा बस्दै आएको थिएँ’, पीडित थप्छिन्, ‘सुरुमा उहाँ एक्लै हुनुहुन्थ्यो, पछि गाउँबाट भिनाजु पनि आउनु भएको थियो ।’

२४ चैत २०७९ मा मिङ्गमा ३÷४ जना साथीहरुसँग कोठामा आएका थिए । त्यसबेला दिदी, भिनाजु र साथीहरुले बसेर मदिरा सेवन गरेको उनले बताइन् ।

‘त्यतिबेला भेनाका ३ जना साथीहरु घर फर्किएका थिए, उनीहरुमध्ये एक जना रामचन्द्र तामाङ मिङ्गमा तामाङको कोठामा नै बस्नु भएको थियो’, पीडितले भनेकी छन्, ‘त्यसपछि आज तिमी रामचन्द्रसँग एउटै कोठामा सुत हामी हाम्रो कोठामा नै सुत्छौं भन्दा मैले इन्कार गरेको थिएँ । तर, उहाँले फेरि रामचन्द्रसँग एउटै कोठामा सुत, त्यस्तो केही हुँदैन भन्नुभएको थियो ।’

तर, मध्यराति ढोकामा चुकुल लगाएर आफूलाई तामाङले बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । ‘तामाङले मलाई विभिन्न डर, धम्की दिएर बलात्कार गरे, त्यतिबेला ममाथि गलत काम गरिसकेपछि म भागेर बाहिर समेत गएको थिएँ’, उनी भन्छिन् ।

किशोरी अहिले गर्भवती भएको दुई महिना नाघेको प्रहरीको भनाइ छ । गर्भ बसेपछि विभिन्न व्यक्ति हुँदै परिवारसम्म पुगेर यो घटना बाहिर आएको हो । पीडितले बच्चा कसको हो भन्ने आफूलाई थाहा नभएको बताएकी छन् । प्रहरीले डीएनए जाँचका लागि नमूना समेत लिएको छ ।

पीडित किशोरीका दाइले काठमाडौं आएर प्रहरी वृत्त, बालाजुमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पठाएको थियो । प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।

त्यसक्रममा अदालतले आइतबार तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

प्रतिक्रिया