देशभर अझैं गर्मी बढ्ने संकेत, आज यी तीन प्रदेशमा वर्षातको सम्भावना

देशभर अझैं गर्मी बढ्ने संकेत, आज यी तीन प्रदेशमा वर्षातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1.9K
    Shares

वर्षा, rain

आज शुक्रबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू‍भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति पहाडी भूभागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, देशभर अझैं गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेसका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना रहेको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको छ ।

यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण गरेको थियो ।

तातो हावा तथा लूबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, बाहिर निस्किँदा टाउको छोप्न, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार