काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। चितवनको राप्ती नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको मंगलबार हत्या भएको हो।
उनलाई बिगत छ महिनादेखि लिभिङ्ग टुगेडदरमा बसेका काभ्रेको धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
एसपी रिजालका अनुसार, मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो। मादक पदार्थ सेवन गरेका रञ्जितकारले मंगलबार दिउसो सामान्य बिबाद भए पछि कुटपिट गर्दा तामाङ गम्भीर घाइते भएकी थिइन्। कुटपिटबाट गम्भीर घाइते भै दिउसो साढे ३ बजे उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएकोमा त्यही उपचारको क्रममा राति पौने आठ बजे मृत्यु भएको एसपी रिजालले बताए।
प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरेको छ। उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।