बुटवलमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ। बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाँदा गुल्मीका दुई युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले जानकारी दिए ।
दुर्घटनापश्चात सख्त घाइते अवस्थामा उपचारार्थ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकोमा दुवै जनाको त्यही उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।