लमजुङ कारागारको पर्खाल नाघेर भागेका दुई जना कैदीलाई प्रहरीले स्थानीय जङ्गलबाट पक्राउ गरेको छ। कैदीहरुले नै बुनेको मुडा प्रयोग गरेर कारागारको पर्खाल नाघेर भागेका दुई जना कैदीहरु चन्द्र बहादुर गुरुङ र बिष्णु बिकलाई फेरी पक्राउ गरेको हो।
प्रहरीका अनुसार, जेठ १८ गते विहान करिब दुई बजेको समयमा भागेका बिष्णु बिकलाई बिहीबार बिहान बेसीशहर नगरपालिका– २ स्थित चिसापानी जंगलबाट पक्राउ गरेको थियो भने अर्का चन्द्र बहादुर गुरुङलाई गाईखुरे झरना र चिप्लेटी नजिकै जङलबाट तल झर्दै गरेको अवस्थामा बिहीबार राती ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।
२७ वर्षीय बिष्णु बिक लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले निवासी हुन्। उनी २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा पक्राउ परेका थिए। ठगी मुद्दामा पक्राउ परि २०८० बैशाख ३१ गतेदेखि पुर्पक्षमा रहने गरी लमजुङ्ग जिल्ला कारागारमा बन्दी जीवन बिताई रहेका गुरुङ गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका १६ बस्दै आएका बताइएको छ।