शंकर कँडेल मृत्यु प्रकरणः आत्महत्या दुरूत्साहन मुद्दामा जीवन रावल थुनामा

शंकर कँडेल मृत्यु प्रकरणः आत्महत्या दुरूत्साहन मुद्दामा जीवन रावल थुनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2.2K
    Shares

चितवन जिल्ला अदालत

पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका जीवन रावललाई बिहीबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएको थियो । रूगटा अझसम्म पक्राउ परेका छैनन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यले आदेश गरेलगत्तै रावल भरतपुर कारागार चलान भएको अदालतका शाखा अधिकृत टीकाराम पुनले बताए । पक्राउ पर्न नसकेर फरार रहेका रूगटा अदालतमा उपस्थित भएका बखत बयान लिएर उनका लागि पनि बहस र थुनछेक आदेश हुने छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत फरार व्यक्तिलाई अदालतमा हाजिर गराउने शाखा अधिकृत पुनले बताए । थुनामा रहने आदेश भएपछि मुद्दा फैसला नहुँदासम्म कारागारमै बस्नु पर्ने छ । आदेश चित्त नबुझे माथिल्लो अदालतमा निवेदन दिन पाउने व्यवस्था पनि छ ।

कँडेल एक महिनाअघि वैशाख १९ गते साँझ नारायणगढ बेलचोकमा रहेको अनमोल फिडको कार्यालय भवनमा मृत फेला परेका थिए । आत्महत्या दुरूत्साहनका आरोपित रूगटाले कँडेल सञ्चालक रहेको अनमोल फिड गत चैतमा किनेका थिए । रावल सोही फिडका कर्मचारी हुन् । उजुरी परेका दुवै जनाविरूद्ध मंगलबार पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना मागदाबी गरेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । बुधबारदेखि सो मुद्दामा थुनछेक आदेशका लागि बहस सुरू हुँदा कँडेलका शुभचिन्तक र स्थानीयले अदालत अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार