आफ्नो साथीसंग मिलेर आफ्नै प्रेमिकालाई वलात्कार गरी हत्या गरेर भागेका एक प्रेमी र उनका साथी १६ वर्षपछी धनकुटाबाट पक्राउ परेका छन्। सुनसरीस्थित इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धनकुटा शहीदभूमि गाउँपालिका- १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउलाई सामूहिक वलात्कारपश्चात हत्या गरेको आरोपमा धनकुटास्थित उनीहरुको घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार, २०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान नगरपालिका- ५ (हाल धरान-१२)मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान- १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा थियो ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी ललिता राईको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो । ललितालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता अनि अर्काेमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर शंकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डीएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।
घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।
लामो समय भारतको सिक्किमा बसेका चन्द्रबहादुर केही वर्षअघि मात्रै घर फर्किएको प्रहरीले बताएको छ । ‘फाइल थन्किएको थियो, पटकपटक मृतकका आफन्तलाई बोलाएर सोधीखोजी गर्यौं,’ उनले भने, ‘सूक्ष्मरुपमा अनुसन्धान गर्यौं ।’ घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताए। पक्राउ परेकामाथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।