सामुदायिक वनमा आगो लगाउने चार जनालाई प्रहरीले अर्घाखाँचीबाट पक्राउ गरेको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने कार्यमा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
वनमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जानाकारे दिएको छ। पक्राउ परेका अभियुक्तहरुले भने जङ्गली जनावरले सताएर आगो लगाएको प्रहरी समक्ष बताएका छन्।
अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए । यो नियममा छ महिनादेखी दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।