लमजुङस्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत मजदुरको हत्यामा संलग्न रहेका अर्का मजदुर पोखराबाट पक्राउ परेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका-८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठको हत्या गरेको आरोपमा सोही जलविद्युत्मा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेललाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, शुक्रबार राति करिब १०:३० बजे सो जलविद्युतमा कार्यरत रम्तेलले आफ्नै साथी सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ ।