कम्युनिष्ट पार्टी ईंतिहासमा दूर्लभै हुने घटना माओवादी आन्दोलनभित्र देखिन थालेको छ । यो आन्दोलनभित्र एकै पटक एउटा फुट र एउटा जुट हुन थालेको छ । वैद्य माओवादीका एक केन्द्रीय सदस्यको टिप्पणी थियो, ‘एकताको कुरा गर्दागर्दै अर्को विभाजन हुने भयो । शुक्रवार बसेको एकीकृत माओवादीको स्थायी समिति वैठकले यो आन्दोलनभित्र एउटा फुट र एउटा जुटका लागि बाटो खोल्ने निर्णय लिएको छ । यस अघि प्रचण्डले सवै स्थायी समिति वैठकवीचको एकतामा जोड दिँदै आएका थिए ।
तर, शुक्रवार बसेको स्थायी समिति वैठकले मोहन वैद्य किरण नेतृत्वको सिंगो नेकपा क्रान्तिकारी माओवादीसँग एकताको सम्भावना नदेखेपछि महासचिव रामबहादुर थापा बादलसँग मात्र भएपनि एकता गर्ने निश्कर्ष निकालेको छ ।
माओवादी एकताका लागि पहल गर्ने एमाओवादीको निर्णय
शुक्रवारको स्थायी समिति वैठकपछि ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बादलसँग मात्र एकता हुने बताएका छन् । योसँगै माओवादी आन्दोलनमा एउटा फुट र एउटा जुटको बाटो खुलेको हो ।
यसरी हुनेछ फुट र जुट एकैपटक
वैद्य नेतृत्वको पार्टीभित्र एकीकृत माओवादीसँग एकता गर्ने विषयमा फरक–फरक मत थिए । वैद्यले एकताका लागि बाटो रोकेको भन्दै बादलपक्षले एकीकृत माओवादीसँग एकताको कोर्स अगाडि बढाएको छ । यस्तो अबस्थामा बादल समूहले केही कदम चाल्दा वित्तिकै वैद्य माओवादी विभाजनको शिकार हुनेछ । यो माओवादी आन्दोलनको अर्को फुट हुनेछ ।
वैद्यसँग सम्बन्ध विच्छेदगरेपछि बादल समूहले भिन्दै पार्टी संरचना बनाउने छैन । यो समूह र एकीकृत माअोवादीवीच महाधिवेशन आयोजक समिति बन्ने छ । यसले माओवादी आन्दोलनभित्र एउटा एकता हुनेछ । वैद्यले पार्टी एकताको ढोका बन्द गरेको निश्कर्षसहित बादलले आफ्नो नेतृत्वमा एकताको कोर्स अगाडि बढाएका हुन ।
यस अघि वैद्यले जनवादी क्रान्ति छाड्ने र प्रतिक्रियावादी संविधान स्वीकार गर्ने गरि आफु एकतामा जान नसक्ने स्पष्ट पारेका थिए । एकीकृत माअोवादीले समाजवादी क्रान्तिको कार्यदिशा अगाडि सारेको छ भने अहिलेको संविधानलाई स्वीकार गरेको छ ।
गत चैत्र १२ देखि २२ गतेसम्म चलेको वैद्य माओवादीको केन्द्रीय समितिको वैठकमा एकताका विषयमा फरक–फरक मत आएका थिए । एकताको पक्षमा मत बलियो देखिएपछि वैद्यले एक महिनाका लागि वैठक स्थगित गरेका थिए । राजनीतिक–वैचारिक कुरा नटुंगाई एकता गर्न नसकिने वैद्यको मत छ ।
वैद्य समूह एकता प्रक्रिया नआए संक्रमणकालीन राजनीतिक–वैचारिक र सांगठनिक योजना बनाएर एकता प्रक्रिया अगाडि बढाउने बादल समूहको तयारी छ । मजदुर दिवसका दिन अर्थात बैशाख १९ सम्म एकता प्रक्रियाका विषयमा ठोस निर्णय लिने र त्यसै दिन केही सन्देश दिने तयारी छ ।
बादलको समूहले एकताका लागि अगाडि बढने निर्णय लियो भने वैद्य माओवादी पुन विभाजनको शिकार हुनेछ । यस अघि नेत्रविक्रम चन्द विप्लवले वैद्यसँग सम्बन्ध विच्छेद गरेका थिए । तर, अहिले उनले प्रचण्डसँग एकता नगर्न वैद्यलाई सुझाव र दवाव दिएको स्रोतको दावी छ । बादलले आन्तरिक एकता र समग्र माओवादी एकताका विषयमा १४ बुँदे नयाँ प्रस्तावसहित हस्ताक्षर अभियान शुरु गरेपछि वैद्यमाथि दवाव परेको थियो ।\