लुटपाटकै लागि निरा पाण्डे आचार्यको हत्या : आरोपी सार्वजनिक

लुटपाटकै लागि निरा पाण्डे आचार्यको हत्या : आरोपी सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ बैशाख २०८०
  • 6.3K
    Shares

काठमाण्डौको कपनस्थित सरस्वतीनगरमा गएको बैशाख ७ गते लुटपाटकै लागि निरा पाण्डे आचार्यको हत्या भएको देखिएको छ। शनिवार साँझ झापाको धुलाबारीबाट पक्राउ परेका बिनोद बिकसंग गरिएको प्रारम्भिक सोध्पपुचका क्रममा लुटपाटकै लागि निरा पाण्डे आचार्यको हत्या भएको देखिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

प्राप्त विवरण अनुसार, गत वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब २० पटक आक्रमण गरी निराको हत्या गरिएको थियो । हत्या भएको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको खुलेको थियो ।

त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले शुक्रबारदेखि अनुसन्धान तीव्र पारेको थियो । घटनामा विनोदको संलग्नता रहेको आशङ्कापछि प्रहरीले विनोदको खोजी गरेको थियो । सोही क्रममा विनोदको डेरामा पुगेको प्रहरीले डेराबाट रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ ।

विनोदको संलग्नता पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्देश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले रातोपाटीलाई बताए ।

आरोपित पहिले क्लबको बाउन्सर थिए

हत्यामा संलग्न भनी आरोपित गरिएका विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रूपमा काम गर्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो समय उनी बेरोजगार रहेको र खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार