नयाँ वर्षलाई सुदूरपश्चिम प्रदेशमा बिसु पर्वको रुपमा मनाइँदैछ । वैशाख १ गते सिस्नो खेलेर मनाइने यो पर्व सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको छ ।
मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।
आजको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा शरीरमा लागेको रोगहरुबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ ।
देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । साथै यस प्रदेशमा बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ ।