शुक्रबार दिउँसो मोरङको रंगेली नगरपालिका-२ खोरियामा रुखमा झुन्डिएको अवस्थामा युवा-युवतीको शव फेला परेको छ।
स्थानीय जनक कार्कीको कृषि फार्मको लिची बगानको रुखमा झुन्डिएको अवस्थामा रंगेली-२ का अन्दाजी १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका-२ की अन्दाजी १८ वर्षीया ललिता उराव मृत फेला परेका हुन्।
आज दिउँसो रुखको एउटी हाँगामा दुई जना झुन्डिएर मृत्यु भएको अवस्थामा देखेपछि दिउँसो १२:५० बजेतिर प्रहरी चौकी बबियाविर्तालाई खबर गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
लिची बगान नजिकै घर भएका संजय र बेलबारी-२ थापा टोलका माइला उरावकी छोरी ललिता बीच पारिवारिक सहमतिमै बिहे हुने निधो भएको स्थानीय बताउँछन । त्यही सहमति अनुसार १ महिनाअघिदेखि ललिता सञ्जयकै घरमा गएर उनीसँगै बस्न थालेकी थिइन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी पनि गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको यथार्थ पत्ता लगाउन निर्देशन दिँदै मिहीन ढंगबाट अनुसन्धान अघि बढाउन विशेष टोली परिचालन गरेका छन्।
प्रारम्भिक अनुसन्धानबाट झुन्डिनुपर्ने कुनै कारण पत्ता नलागेको र थप अनुसन्धानपछि घटनाका बारेमा यकिन हुने डीएसपी दाहालले बताए।